आईपीओ निष्काशन गर्दै शुभ इन्टरनेशल हस्पिटालिटी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा आयोजित एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच शेयर निष्काशन तथा बिक्री व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।
पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल वैशाख १७ गते देखि सञ्चालन गर्दै आएको छ ।
भारतको प्रतिष्ठित लेमन ट्रि होटल समूह अन्तर्गतको कार्नेसन होटल्स प्रालीसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्राण्डअन्तर्गत सञ्चालित पाँचतारे होटलको रूपमा स्थापित भएको छ ।
होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड तथा उत्कृष्ट व्यवस्थापनमार्फत होटलले पूर्वी नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना रहेको समेत जानकारी गराएको छ ।













