रातो रंगमा रंगियो साताको शेयर बजार: नेप्सेमा ५२ अंकको पहिरोले लगानीकर्ता ’पर्ख र हेर’को अवस्थामा ! « Arthapath.com
१३ असार २०८३, शनिबार

रातो रंगमा रंगियो साताको शेयर बजार: नेप्सेमा ५२ अंकको पहिरोले लगानीकर्ता ’पर्ख र हेर’को अवस्थामा !



काठममाडौं । नेपाली पुँजी बजारका लागि यो साता उत्साहजनक रहेन । साताको पाँचै कारोबार दिन लगातार ओरालो लागेर सेयर बजार मापक नेप्से परिसूचकमा रातो पोतिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन (शुक्रबार) २,७०२.११ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको शुक्रबारसम्म आइपुग्दा ५२.६ अंकले घटेर २,६४९.५१ विन्दुमा ओर्लिएको छ । यो गिरावटसँगै बजारले २,७०० को मनोवैज्ञानिक विन्दु मात्र गुमाएको छैन । बरु बजारमा क्रेताभन्दा विक्रेता हाबी भएको प्रष्ट संकेत समेत गरेको छ ।

साताभर बजार औसतमा दैनिक १०.५२ अंकले ओरालो लागेको छ । जसले लगानीकर्ताहरूमा केही निराशा र अन्योलता थपेको देखिन्छ । नीतिगत अन्योलता र मौद्रिक नीतिको समीक्षाको पर्खाइका बीच बजारमा आएको यो संकुचनलाई विश्लेषकहरूले “करेक्सन“का रूपमा लिए पनि आम लगानीकर्ता भने पर्ख र हेरको रणनीतिमा लागेका छन् ।

समग्र बजारको अवस्थालाई नियाल्दा गिरावटको गति सुस्त तर निरन्तर देखिन्छ । परिसूचक घटे पनि साताभरको कुल कारोबार रकम भने सन्तोषजनक नै मान्नुपर्छ । पाँच कार्यदिनमा कुल २० अर्ब १ करोड १४ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस अवधिमा कुल ४ करोड ३१ लाख ६४ हजार ४ सय २७ कित्ता सेयर दोस्रो बजारमा किनबेच भए । साताभर कुल ३ लाख २२ हजार ९ सय ३० पटक कारोबार भएको थियो ।

बजारमा दैनिक औसत कारोबार रकम ४ अर्ब २ करोड २८ लाख १२ हजार रुपैयाँ रहेको छ । जसले बजार घटे पनि बजारमा तरलताको प्रवाह र कारोबारको सक्रियता अझै जीवन्त रहेको देखाउँछ । दैनिक औसतमा ३४८.२ कम्पनीका सेयरहरू कारोबारमा आएका थिए । यो साताको बजारले लगानीकर्ताहरू अल्पकालीन नाफा बुक गर्न बढी केन्द्रित भएको र ठूला संस्थागत लगानीकर्ताहरू नयाँ रणनीतिको पर्खाइमा रहेको संकेत गर्दछ ।

साताको सुरुवातदेखि नै बजारमा दबाब देखियो
साताको पहिलो दिन सोमबार बजार सामान्य १.४६ अंकले घटेर २,७००.६५ विन्दुमा बन्द भयो। उक्त दिन बजारले २,७१९.१६ सम्मको उच्च विन्दु तय गरे पनि अन्तिममा गिरावट रोक्न सकेन । सोमबार ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४ सय ३३ कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँमा कारोबार भएका थिए ।

मंगलबार बजारमा ठूलो धक्का लाग्यो । नेप्से परिसूचक २६.१६ अंकले घटेर २,६७४.४८ विन्दुमा झर्‍यो । सो दिन बजार २,७००.०१ को उच्च विन्दुबाट २,६६९.२५ को न्यून विन्दुसम्म झरेको थियो । यस दिन ३५३ कम्पनीको ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४० हजार १६४ कित्ता सेयर कारोबार भएको थियो ।

बुधबार पनि ओरालो लाग्ने क्रम रोकिएन । बजार १४.४५ अंकले घटेर २,६६०.०२ विन्दुमा खुम्चियो । उक्त दिन २,६७८.२९ को उच्च विन्दु र २,६३३.९३ को न्यून विन्दु बीच उतारचढाव रह्यो । ३३८ कम्पनीको ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता सेयर किनबेच भयो ।

बिहीबार बजार ८.५० अंकले घटेर २,६५१.५२ विन्दुमा बन्द भयो । सो दिन कारोबार रकममा ठूलो गिरावट आउँदै मात्र २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँमा सीमित भयो । जुन साताकै सबैभन्दा कम कारोबार हो। यस दिन ३३८ कम्पनीको ६४ लाख ८० हजार ५ सय ९९ कित्ता सेयर कारोबार भएको थियो ।

साताको अन्तिम दिन शुक्रबार बजारमा केही सम्हालिने प्रयास देखियो तर पनि बजार २.०० अंकले घटेर २,६४९.५१ विन्दुमा बन्द भयो । उक्त दिन २,६६२.४४ को उच्च र २,६४०.२६ को न्यून विन्दु कायम भयो । शुक्रबार ३५९ कम्पनीको ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँ बराबरको ७७ लाख २७ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदै यो साताको कारोबार समाप्त भयो ।


प्रतिक्रिया दिनुहोस्