आइजीआई प्रुडेन्सियल र स्वतन्त्र चालक फाउन्डेसनबीच सेवा आदान–प्रदान सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच सेवा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ।
पानीपोखरीस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र बालकुमारी, ललितपुरस्थित स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच भएको उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख नीरजराम भण्डारी तथा स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुर्घटनापछि आवश्यक औषधोपचार, नगदरहित (क्यासलेस) उपचार सेवा, बीमा दाबी प्रक्रियालाई सरल बनाउने व्यवस्था तथा दाबीको छिटो फर्छ्योटलाई प्राथमिकता दिइनेछ। साथै, दुर्घटनापछि आवश्यक समन्वय गरी बीमितलाई समयमै सेवा उपलब्ध गराउन दुवै पक्षले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौता कार्यक्रममा आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख भण्डारीले स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्य तथा ग्राहकलाई कम्पनीका विभिन्न बीमा सेवामा सहभागी हुन आग्रह गरे। उनले दुर्घटना तथा औषधोपचार बीमा लगायत आवश्यक सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत सहज रूपमा उपलब्ध हुने बताए।
त्यसैगरी, फाउन्डेसनका संस्थापक अध्यक्ष फुयालले आइजीआई प्रुडेन्सियलबाट प्राप्त हुने बीमा सेवाहरू छिटो, छरितो र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै संस्थासँग आबद्ध सदस्यलाई क्रमशः कम्पनीका विभिन्न बीमा सेवामा आबद्ध गराउँदै सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।













