उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने संस्थाहरूलाई आइक्यानको अवार्ड, कसले के जिते?
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुतीकरण अवार्ड (बेष्ट प्रिजेण्टेड एनुअल रिपोर्ट अवार्ड) वितरण गरेको छ ।
मंगलबार काठमाडौँमा आयोजित एक भव्य कार्यक्रमका बीच आइक्यानले उत्कृष्ट ठहर भएका वित्तीय प्रतिवेदन प्रस्तुतीकरण गर्ने संस्थाहरुलाई अवार्डद्वारा सम्मानित गरेको हो ।
नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५ अन्तर्गत उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न बैंक, बीमा कम्पनी, वित्तीय संस्था तथा उद्योगहरूलाई अवार्ड प्रदान गरिएको थियो ।
निजी क्षेत्रको बैंकतर्फ नबिल बैंकले स्वर्ण पुरस्कार जित्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रजत तथा माछापुच्छ्रे बैंक कास्य पुरस्कारबाट सम्मानित भए । यसैगरी नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरे । सार्वजनिक क्षेत्रका बैंकमध्ये कृषि विकास बैंक रजत पुरस्कारबाट सम्मानित भयो ।
विकास बैंक तथा वित्त कम्पनीतर्फ कामना सेवा विकास बैंकले स्वर्ण, गरिमा विकास बैंकले रजत तथा महालक्ष्मी विकास बैंकले कास्य पुरस्कार प्राप्त गरे। मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ ।
जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स स्वर्ण विजेता बन्यो भने आईएमई लाइफ इन्स्योरेन्सले कास्य पुरस्कार प्राप्त गर्यो । सन नेपाल लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।
निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले स्वर्ण पुरस्कार जित्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संयुक्त रूपमा रजत तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कास्य पुरस्कार प्राप्त गर्यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।
उत्पादन क्षेत्रतर्फ युनिलिभर नेपाल स्वर्ण, बोटलर्स नेपाल (तराई) रजत तथा हिमालयन डिस्टिलरी कास्य पुरस्कारबाट सम्मानित भए। बोटलर्स नेपाल लिमिटेडले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गर्यो।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा नेपाल क्लियरिङ हाउस, ईसेवा र फोनपे पेमेन्ट सर्भिसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरियो । सेवा क्षेत्रतर्फ ओरियन्टल होटल्स लिमिटेड सम्मानित भयो ।
यस्तै, कर्पोरेट गभर्नेन्स विधामा नबिल बैंक र नेपाल एसबीआई बैंक तथा एकीकृत प्रतिवेदन/दिगोपन प्रतिवेदन विधामा नबिल बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको आईक्यानले जनाएको छ।
आईक्यानका अनुसार यो पुरस्कारले संस्थाहरूलाई पारदर्शी वित्तीय प्रतिवेदन, सुशासन, जवाफदेहिता र अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रतिवेदन अभ्यास अवलम्बन गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । नेपालमा उत्कृष्ट हुने वित्तीय प्रतिवेदन प्रस्तुतीकरण अवार्ड बिजेताले सार्क स्तरीय अवार्ड, साफा अवार्डमासमेत सहभागीता जनाउन पाउनेछ ।















