आईएमई लाइफलाई आईक्यानको ‘बीपीए अवार्ड–२०२५’ अन्तर्गत कांस्य पुरस्कार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा संयुक्त रूपमा उक्त पुरस्कार ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीका अनुसार यस पुरस्कारले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई संस्थागत रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिएको पुष्टि गरेको छ।
पुरस्कार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपिएको उल्लेख गरे।
उनले कम्पनीको सफलतामा योगदान पुर्याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘(ए माइनस)’ क्रेडिट रेटिङ पनि प्राप्त गरेको जनाएको छ।
हाल आईएमई लाइफका देशभर १६० शाखा तथा उपशाखा सञ्चालनमा छन् भने ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत कम्पनीले जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै सेवा विस्तार र सुशासनलाई निरन्तर प्राथमिकतामा राखेको जनाएको छ।













