गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५‘ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व तथा सुशासनसम्बन्धी मापदण्डका आधारमा गरिएको मूल्यांकनमा विकास बैंक समूहअन्तर्गत गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा आईक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका हुन्।
गरिमा विकास बैंकले यसअघि पनि विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ। आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित बैंकले न्यु बिजनेस एज लिमिटेडद्वारा आयोजित ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड पनि प्राप्त गरेको थियो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।













