प्राइम बैंकको ३ अर्बको ऋणपत्रमा अब असार ३० गतेसम्म आवेदन दिन सकिने
काठमाडाैं । प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ। बैंकले १० वर्ष अवधि तथा वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको “६.२५% प्राइम बैंक डिबेन्चर २०९३” नामक ऋणपत्र निष्कासन गरेको हो।
यसअघि उक्त ऋणपत्रमा छिटोमा आज अर्थात् २०८३ असार १९ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो। तर, मागबमोजिम आवेदन प्राप्त नभएकाले ऋणपत्रको विवरणपत्रमा भएको व्यवस्था अनुसार ढिलोमा २०८३ असार ३० गते बैंकिङ समयपश्चात् बन्द हुने गरी निष्कासन तथा बिक्री खुला रहने म्याद थप गरिएको बैंकले जनाएको छ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधारणका लागि १२ लाख कित्ता ऋणपत्र छुट्याइएको छ। सर्वसाधारणका लागि तोकिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकिएको छ।
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिँदा प्रति ऋणपत्र एकमुष्ठ १ हजार रुपैयाँका दरले भुक्तानी गर्नुपर्नेछ।













