ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन २०२६’ सुरु « Arthapath.com
१९ असार २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन २०२६’ सुरु



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन २०२६’ सुरु गरेको छ।

शुक्रबार आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको जनाएको छ।

प्रविधिमा रुचि भएका विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डाटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित प्रतियोगितामा खुला आवेदनमार्फत उत्कृष्ट १४ टोली छनोट गरिएको बैंकले जनाएको छ। दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागी टोलीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ। प्रतियोगिताका सहभागीका लागि आवासीय व्यवस्थासमेत गरिएको छ।

प्रतियोगितामा सहभागी टोलीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित नवप्रवर्तनात्मक अवधारणा प्रस्तुत गर्नेछन्। ती अवधारणाले बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र प्रविधिमैत्री बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सम्भावना पहिचान गर्न तथा यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइने जानकारी दिए।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। साथै ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्