लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकबीच हरित पहलका लागि साझेदारी: टोखामा २०० एभोकाडोका बिरुवा रोपिए
काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ।
यो वृक्षारोपण अभियान नबिल बैंकले आफ्नो संस्थागत संस्कृतिमा दिगो दृष्टिकोणलाई आत्मसाथ गर्न आयोजना गरेको साताव्यापी कार्यक्रम “नबिल ग्रीन वीक” अन्तर्गत गरिएको हो।
शहरी हरियाली प्रवर्द्धन र जलवायु संवर्द्धनका लागि ठोस कदम चाल्ने उद्देश्यले आयोजना गरिएको यस वृक्षारोपण अभियानमा स्थानीय जनप्रतिनिधि, ग्रीन भोलेन्टियर्स र स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ र नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको विशेष उपस्थिति रहेको थियो। यसैगरी, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं “१० लाख वृक्षारोपण तथा संरक्षण अभियान” का संयोजक बासु गौतमसहित फोरमका कार्यसमिति सदस्यहरूको पनि कार्यक्रममा उपस्थिती रहेको थियो।
कार्यक्रममा नबिल बैंकका कर्मचारीहरू तथा स्थानीय वडाका तीन दर्जनभन्दा बढी बासिन्दाहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधि कृत मनोज ज्ञवालीले आधुनिक युगमा वातावरणीय संरक्षणको सर्वोपरि महत्त्वमाथि जोड दिए।
नबिल बैंक आफ्ना संस्थागत लक्ष्यहरूलाई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य सँग जोड्न दृढ संकल्पित रहेको कुरा दोहोर्याउँदै उनले “नबिल ग्रीन वीक” जस्ता पहलहरूको उद्देश्य आगामी पुस्ताका लागि स्वस्थ र हरियाली पर्यावरणको निर्माण गर्नु रहेको बताए।
लुम्बिनी वर्ल्ड पिस फोरमका तर्फबाट बोल्दै बासु गौतमले सक्रिय सहभागिताका लागि नबिल बैंक र स्थानीय समुदायप्रति आभार व्यक्त गरे। उनले थपिएका २०० एभोकाडोका रूखहरूले शहरको हरियाली क्षेत्र मात्र बढाउने नभई स्थानीय पार्क र सामुदायिक क्षेत्रलाई दीर्घकालीन पर्यावरणीय तथा आर्थिक लाभ समेत पुर्याउने उल्लेख गरे।













