अमृत तेल बेच्ने अन्नपूर्ण भेजिटेबलको एकै वर्ष करिब १३ अर्बको कारोबार « Arthapath.com
२२ असार २०८३, सोमबार

अमृत तेल बेच्ने अन्नपूर्ण भेजिटेबलको एकै वर्ष करिब १३ अर्बको कारोबार



काठमाडौं । नेपाली खानेतेल उद्योग ‘अन्नपूर्ण भेजिटेबल प्रोडक्ट’ले गत आर्थिक वर्षमा व्यावसायिक रूपमा ठूलो छलाङ मारेको छ । कम्पनीले गत आवमा १२ अर्ब ९० करोड ६० लाख रुपैयाँ बराबरको बलियो कारोबार गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा २४४ प्रतिशतको आक्रामक वृद्धि हो। यसअघि सन् २०२३ मा ६ अर्ब ९८ करोड ८० लाख र सन् २०२४ मा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।

कम्पनीको यो व्यावसायिक वृद्धि चालु आर्थिक वर्षमा पनि लयमै देखिएको छ । चालु आवको ११ महिनाकै अवधिमा कम्पनीले १२ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरिसकेको छ ।

भारत सरकारले कच्चा तेल आयातमा भन्सार दर बढाएपछि नेपाली प्रशोधित तेल उद्योगहरूलाई फाइदा पुगेको र त्यसकै बलमा अन्नपूर्णको आम्दानीमा उच्च वृद्धि भएको हो । कारोबारसँगै कम्पनीको नाफामा पनि सुधार आएको छ । अघिल्ला वर्षहरूमा नकारात्मक रहेको नाफा मार्जिन गत आवमा सुधारिएर ५.८५ प्रतिशत पुगेको छ ।

वित्तीय सूचकहरू सुधारोन्मुख देखिए पनि कम्पनीमा ऋणको भार भने अझै उच्च छ । कम्पनीको पुँजी संरचना अत्यधिक ऋणमा निर्भर रहँदा समग्र गियरिङ अनुपात १३.८६ गुणा पुगेको छ । यद्यपि, ८ करोड रुपैयाँ नयाँ इक्विटी थपिएका कारण ट्यान्जिबल नेटवर्थमा केही सुधार आएको छ ।

सञ्चालन नाफा सुध्रिएसँगै ब्याज कभरेज अनुपात २.०१ गुणा पुगेको छ भने कुल नगद सञ्चय पनि सकारात्मक बन्दै ३७ करोड ६० लाख रुपैयाँ पुगेको छ । तर, कुल ऋण र नगद सञ्चितीको अनुपात ११.३७ गुणा रहेकाले ऋण चुक्ता गर्ने क्षमतामा अझै केही दबाब देखिन्छ ।

सन् १९९८ मा स्थापना भई संघाई समूहद्वारा सञ्चालित यस उद्योगले अमृत, सनस्टार र रानी ब्रान्डमा खानेतेल उत्पादन तथा निर्यात गर्दै आएको छ ।

वार्षिक ६० हजार मेट्रिक टन भटमास, पामोलिन र सूर्यमुखी तेल प्रशोधन गर्ने क्षमता भएको यस उद्योगले ७ हजार टन वनस्पति घ्यू र १० हजार टन तोरीको तेल उत्पादन गर्दछ । कम्पनीले हालै कुल ४ अर्ब ६ करोड ३० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ ।


प्रतिक्रिया दिनुहोस्