विलासी कार निर्माता बेन्टलेको विद्युतीय युगमा प्रवेश, पहिलो ईभी असोजमा सार्वजनिक गरिँदै « Arthapath.com
२४ असार २०८३, बुधबार

विलासी कार निर्माता बेन्टलेको विद्युतीय युगमा प्रवेश, पहिलो ईभी असोजमा सार्वजनिक गरिँदै



बेलायती विलासी कार निर्माता कम्पनी बेन्टलेले आफ्नो पहिलो पूर्ण विद्युतीय कार ‘टोर्काल’ आगामी असोज ७ गते सार्वजनिक गर्ने घोषणा गरेको छ।

काठमाडौँ । विश्वप्रसिद्ध विलासी कार निर्माता कम्पनी बेन्टलेले आफ्नो इतिहासमै पहिलो पटक निर्माण गर्न लागेको पूर्ण विद्युतीय कार (ईभी) को नाम र बाहिरी बनोटको केही झलक सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो नयाँ कारको आधिकारिक नाम ‘बेन्टले टोर्काल’ राखिएको छ। यो मोडल बजारमा आएपछि बेन्टलेको उत्पादन सूचीमा चौथो लहरको रूपमा थपिने छ। यसअघि कम्पनीका कन्टिनेन्टल जीटी, फ्लाइङ स्पर र बेन्टाएगा मोडलहरू बजारमा उपलब्ध छन्।

यो कारको नाम स्पेनको सिएरा डेल टोर्काल पर्वत शृङ्खलामा रहेको ‘एल टोर्काल डे एन्टक्वेरा’ नामक प्राकृतिक आरक्षबाट साभार गरिएको हो।

यस्तो छ बनोट र डिजाइन

कम्पनीले सार्वजनिक गरेको टिजर तस्वीर अनुसार बेन्टलेको यो पहिलो विद्युतीय कार एउटा एसयूभी मोडल हुने निश्चित भएको छ। तस्वीरमा कारको पछिल्लो भाग सिधा र उठेको देखिन्छ। यसको टेललाइट पातलो र आकर्षक छ, जसमा थप विलासी देखिनका लागि ‘डायमण्ड-कट’ ग्राफिक्स प्रयोग गरिएको छ।

दुवै बत्तीको बीचमा बेन्टलेको गुडिरहेको चराको प्वाँख जस्तो बनिबनावटको लोगो र अक्षरमा कम्पनीको नाम कुँदिएको छ। कारको पछिल्लो भागको तल्लो पट्टी कार्बन फाइबरको प्रयोग गरिएको हुनाले यसले स्पोर्ट्स कारको जस्तो कडा लुक्स दिएको छ।

पछाडिको बम्परको भित्री भागमा नम्बर प्लेट राख्ने ठाउँ बनाइएको छ। समग्रमा बेन्टले टोर्कालको बनोट निकै सफा, सुतीलो र भव्य देखिन्छ, जसमा अनावश्यक घचाघच र धर्साहरू कोरिएका छैनन्।

कम्पनीले अहिलेका लागि कारको पछिल्लो भाग मात्र देखाएको भए पनि यसको अघिल्लो भाग एक वर्षअघि प्रदर्शन गरिएको ‘ईएक्सपी १५ ईभी’ अवधारणासँग मिल्दो हुने अनुमान गरिएको छ। जसमा दुई तहको चम्किलो ग्रिल हुन सक्नेछ। बेन्टलेले यसको आकार र लम्बाइ चौडाइबारे स्पष्ट नपारे पनि यो बेन्टाएगा भन्दा केही सानो क्रसओभर आकारको कार हुने प्रारम्भिक विवरणहरूले देखाएका छन्।

पावर र क्षमताको अनुमान

बेन्टलेले यो नयाँ मोडलको इन्जिन र शक्तिको प्राविधिक विवरण खुलाउन बाँकी नै छ। तर कम्पनीले जनाए अनुसार ‘टोर्काल’ शब्द ल्याटिन भाषाको ‘टोर्केरे’ बाट बनेको हो, जसबाट आधुनिक अटोमोबाइल क्षेत्रमा प्रयोग हुने ‘टर्क’ (गुड्ने शक्ति) शब्दको उत्पत्ति भएको हो।

यो नामको दोहोरो अर्थले गर्दा टोर्काल मोडल अहिलेसम्मकै सबैभन्दा धेरै टर्क अर्थात् शक्तिशाली गुड्ने क्षमता भएको बेन्टले कार बन्नसक्ने भनेर धेरैले अनुमान गरेका छन् ।

अहिलेको बजारमा बेन्टलेको सबैभन्दा शक्तिशाली गाडी कन्टिनेन्टल जीटी एस र फ्लाइङ स्पर एस हुन्, जसमा ४.० लिटरको ट्विन-टर्बो भी८ हाइब्रिड इन्जिन रहेको छ।

यसले ६८० हर्सपावर र ९३० एनएम टोर्क उत्पादन गर्छ। नयाँ विद्युतीय कारले १,००० एनएम भन्दा बढी टोर्क दिने अनुमान गरिएको छ। बेन्टलेको भगिनी कम्पनी ‘पोर्श’ का कारहरूलाई हेर्दा पनि यसको क्षमता लख काट्न सकिन्छ।

यो नयाँ कार फक्सवागन समूहको ‘प्रीमियम प्लेटफर्म इलेक्ट्रिक’ (पीपीई) प्रविधिमा आधारित भएर बन्ने प्रबल सम्भावना छ। यही प्रविधिमा पोर्श कायेन इलेक्ट्रिक र आउडी क्यु६ ई-ट्रोन जस्ता कारहरू बनिरहेका छन्। पोर्श कायेनको सबैभन्दा महँगो ‘टर्बो एस’ मोडलले १,१५६ हर्सपावर र १,५०० एनएम सम्मको टोर्क पैदा गर्छ।

दुईवटा मोटर जडान भएको उक्त पोर्श कारले मात्र २.५ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ र यसको अधिकतम गति प्रतिघन्टा २६० किलोमिटर छ। यसमा ११३ किलोवाट हावरको ब्याट्री छ जसले एक पटकको फुल चार्जमा ६२३ किलोमिटर सम्मको माइलेज दिन्छ। बेन्टले टोर्कालमा पनि यस्तै वा यो भन्दा बढी क्षमता हुन सक्ने विश्लेषकहरू बताउँछन्।

आगामी योजना

बेन्टले टोर्काल आगामी सन् २०२६ को सेप्टेम्बर २३ (अर्थात् २०८३ साल असोज ७ गते) विश्व बजारमा पूर्ण रूपमा सार्वजनिक हुनेछ। यो कारसँगै कम्पनीले पूर्ण रूपमा विद्युतीय युगमा कदम चाल्ने भए तापनि इन्धनबाट चल्ने परम्परागत इन्जिन (आईसीई) भएका कारहरूको उत्पादनलाई पूर्ण रूपमा बन्द भने नगर्ने बताएको छ।

कम्पनीको परिमार्जित ‘बियोन्ड १००+’ रणनीति अन्तर्गत कम्तीमा सन् २०३५ सम्म इन्धनबाट चल्ने नयाँ मोडलका गाडीहरू पनि निरन्तर बजारमा ल्याइरहने कम्पनीले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्