नेपाल एसबीआई बैंकले मनायो ३३औँ स्थापना दिवस
काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले मंगलबार आफ्नो ३३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
स्थापना दिवसको अवसरमा बैंकले सम्पूर्ण कर्मचारीहरूको सहभागितामा शपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्पोरेट कार्यालय, कमलादीमा उपस्थित कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारी, प्रतिबद्धता र व्यावसायिक आचरणलाई थप सुदृढ बनाउने शपथ गराएका थिए। कार्यक्रममा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डे, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रदेश कार्यालय तथा शाखाहरूमा कार्यरत कर्मचारीहरूले भने भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको गौरवपूर्ण इतिहास, प्रतिष्ठा र वित्तीय क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित पहिचानलाई कायम राख्न प्रत्येक कर्मचारीको व्यक्तिगत जिम्मेवारी र समर्पण अपरिहार्य रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट अभ्यासलाई निरन्तर अवलम्बन गर्दै बैंकले सुशासनलाई सुदृढ बनाएको र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै आएको उल्लेख गरे।
उनले नैतिकता, इमान्दारिता, नवप्रवर्तन, ग्राहक केन्द्रित सेवा, टोलीगत कार्यसंस्कृति तथा आपसी सहकार्यलाई अझ सशक्त बनाउँदै उत्कृष्टताको यात्रालाई निरन्तरता दिन कर्मचारीहरूलाई आग्रह गरे। साथै चुनौतीलाई अवसरमा र आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्न समर्पण, प्रतिबद्धता र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।
स्थापना दिवसको अवसर पारेर बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कमलादीस्थित कर्पोरेट कार्यालयसहित सातै प्रदेशमा सम्पन्न रक्तदान कार्यक्रमका अतिरिक्त विराटनगर र वीरेन्द्रनगरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गरिएको बैंकले जनाएको छ।
विराटनगरमा बैंकले श्री लक्ष्मीनारायण वेद विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्नुका साथै विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरेको छ। त्यस्तै वीरेन्द्रनगरमा श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराई प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याएको जनाएको छ।
बैंकका अनुसार यी कार्यक्रमहरूले सामुदायिक विकास, शिक्षा प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रतिको बैंकको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेका छन्।
नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।













