गौमुलका ६ सामुदायिक विद्यालयलाई कुमारी बैंकद्वारा स्मार्ट टेलिभिजन सहयोग « Arthapath.com
२५ असार २०८३, बिहिबार

गौमुलका ६ सामुदायिक विद्यालयलाई कुमारी बैंकद्वारा स्मार्ट टेलिभिजन सहयोग



काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमले दुर्गम क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ।

सहयोग प्राप्त गर्ने विद्यालयमा श्री मानाकोट माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, श्री अम्लिश माध्यमिक विद्यालय, श्री फूलपाता माध्यमिक विद्यालय, श्री किर्तिचौर माध्यमिक विद्यालय र श्री बालविकास माध्यमिक विद्यालय रहेका छन्।

भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको क्षेत्रमा स्मार्ट टेलिभिजनले शिक्षणलाई थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बनाउने विश्वास बैंकको छ। यसबाट विद्यार्थीले डिजिटल सामग्री तथा श्रव्य–दृश्य माध्यममार्फत आधुनिक शिक्षासँग जोडिने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्