आजबाट ७ दिनका लागि सरकारी खाता बन्द
काठमाडौं । आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अगाडि नै भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आज असार २५ गते राति १२ बजेदेखि देशैभरका सरकारी खाताहरू ७ दिनका लागि बन्द हुने भएका छन् ।
महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी खाताहरू बन्द गर्न लागेको हो ।
यस व्यवस्था अनुसार स्थानीय तहहरूमा आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली आज राति १२ बजेपछि पूर्ण रूपमा बन्द हुनेछ । जसले गर्दा अब नयाँ भुक्तानी तथा निकासाका कार्यहरू रोकिने छन् ।
नियमावली अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी दिई निकासा तथा खर्चको लेखा अद्यावधिक गरिसक्नुपर्ने प्रावधान रहेकाले यो कदम चालिएको हो ।
तर, असार ३२ गतेसम्म हिसाब मिलान गर्ने प्रयोजनका लागि भने नियमावलीकै नियम ३० को उपनियम (७) बमोजिम सीमित प्रकृतिका कारोबारहरू गर्न सकिने कार्यालयले स्पष्ट पारेको छ । यस अवधिमा असार २५ गतेसम्म काटिएका तर दाखिला हुन बाँकी अग्रिम आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), पारिश्रमिक कर, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र बीमा कोष जस्ता रकमहरू बैंकमा अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ ।
यस्तै, यसअघि भुक्तानी गर्दा असफल भएका विद्युतीय भुक्तानीहरूको पुन: भुक्तानी गर्ने, खर्च हुन नसकेको सशर्त, समपूरक र विशेष अनुदानको रकम फिर्ता गर्ने र पेश्की फछ्र्यौट गर्ने जस्ता प्राविधिक कामहरू मात्र गर्न पाइनेछ । यो कदमले आर्थिक वर्षको अन्त्यमा हुने खर्चको विवरणलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।














