‘आफ्नै रोजााईंको भाडा यहाँमात्र’ नारासहित इनड्राइभद्वारा ‘प्यासेन्जर ३६०’ अभियान सुरु
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्यासेन्जर ३६०’ नामक नयाँ एकीकृत अभियान सार्वजनिक गरेको छ। ‘आफ्नै रोजााईंको भाडा यहाँमात्र’ भन्ने नारासहित सुरु गरिएको अभियानले यात्रुलाई थप पारदर्शिता, उचित भाडा र यात्रामा बढी नियन्त्रण दिने कम्पनीको प्रतिबद्धतालाई जोड दिएको छ।
कम्पनीका अनुसार अभियान काठमाडौं केन्द्रित हुनेछ। डिजिटल सामग्री, सामाजिक सञ्जाल, प्रभावशाली व्यक्तिहरूसँगको सहकार्य, इन–एप अनुभव तथा विभिन्न प्रत्यक्ष कार्यक्रममार्फत अभियान सञ्चालन गरिनेछ।
इनड्राइभका अनुसार अहिलेका यात्रुहरू केवल सवारी सेवा मात्र नभई भरपर्दो, पारदर्शी र सहज यात्रा अनुभव चाहन्छन्। काठमाडौंमा बढ्दो ट्राफिक जाम, अनिश्चित यात्रा समय तथा सार्वजनिक यातायातको सीमित पूर्वानुमानका कारण यात्रुहरू छिटो सवारी पुष्टि, कम प्रतीक्षा समय, उचित भाडा र आफ्नो आवश्यकताअनुसारको सेवा खोजिरहेका छन्।
‘प्यासेन्जर ३६०’ अभियानले यिनै आवश्यकतालाई केन्द्रमा राख्दै यात्रुहरूको रोजाइ, पारदर्शिता र उचित भाडामा आधारित सेवा अनुभवलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।
नेपालमा सेवा सुरु गरेयता इनड्राइभले यात्रु र चालक दुवैलाई भाडा निर्धारण प्रक्रियामा सहभागी गराउने प्रणाली लागू गरेको छ। यात्रुले आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्ने, चालकबाट आएका प्रस्ताव तुलना गरी आफूलाई उपयुक्त विकल्प छनोट गर्न सक्ने व्यवस्था रहेको छ। त्यस्तै चालकले पनि आफूलाई उपयुक्त लागेका यात्राका अनुरोध मात्र स्वीकार गर्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंका यात्रुहरूको अपेक्षा तीव्र रूपमा परिवर्तन भइरहेको बताइन्।
उनले भनिन्, “आजका यात्रुहरू केवल सस्तो भाडा मात्र खोज्दैनन्। उनीहरू पारदर्शिता, भरपर्दोपन, सहजता र आफ्नो यात्रामाथि बढी नियन्त्रण चाहन्छन्। ‘प्यासेन्जर ३६०’ अभियानमार्फत हामी यात्रुलाई सूचित निर्णय गर्ने र आफूलाई उपयुक्त भाडामा सहमति गर्ने अवसर उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाएका छौँ।”
कम्पनीका अनुसार शहरी यातायातको भविष्य यात्रु–केन्द्रित, पारदर्शी र लचिलो सेवामा आधारित हुने विश्वासका साथ इनड्राइभले ‘प्यासेन्जर ३६०’ अभियानमार्फत स्मार्ट यात्रा संस्कृतिको प्रवर्द्धन गर्ने तथा यात्रु र चालक दुवैका लागि न्यायपूर्ण मोबिलिटी प्रणाली निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
इनड्राइभ विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म हो। कम्पनीका अनुसार यसको एप ४० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ र लगातार चौथो वर्ष विश्वकै दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड–हेलिङ एप बनेको छ। राइड–हेलिङ सेवासँगै इनड्राइभले अन्तरसहर यातायात, डेलिभरी तथा वित्तीय सेवासमेत उपलब्ध गराउँदै आएको छ।
हाल इनड्राइभ ४८ देशका १,१०० भन्दा बढी सहरमा सञ्चालनमा रहेको छ। कम्पनीले ‘न्यायपूर्ण विकल्पमार्फत अन्यायलाई चुनौती’ दिने उद्देश्यका साथ स्थानीय समुदायलाई निष्पक्ष भाडा प्रणालीमार्फत सेवा प्रदान गर्दै सामाजिक प्रभावका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।













