इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग र वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
२६ असार २०८३, शुक्रबार

इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग र वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र कालिकोटमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

संस्थाका अनुसार रुकुमपूर्वको तकसेरा, रुकुमपश्चिमको पेदीबजार र रोल्पाको बाघमारा शाखामार्फत सञ्चालित कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५०० विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीको पठनपाठनलाई थप सहज, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

यस्तै, कालिकोटको पलाँता शाखाले स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बचतको महत्त्व, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा वित्तीय सेवामा पहुँचका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थी र समुदायमा गुणस्तरीय शिक्षा, सकारात्मक सोच तथा जिम्मेवार वित्तीय व्यवहारको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

इन्फिनिटी लघुवित्तले शिक्षा, वित्तीय समावेशीकरण र समुदायको दिगो विकासलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा पनि शिक्षा, सामाजिक उत्थान, वित्तीय समावेशीकरण तथा समुदायको समग्र विकासमा योगदान पुग्ने यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्