हेल्दीहोमको २१औँ वार्षिकोत्सव सम्पन्न, नयाँ पुस्ताको नेतृत्वसँगै विस्तारको लक्ष्य « Arthapath.com
२८ असार २०८३, आइतबार

हेल्दीहोमको २१औँ वार्षिकोत्सव सम्पन्न, नयाँ पुस्ताको नेतृत्वसँगै विस्तारको लक्ष्य



काठमाडौं । नेपालको होलिस्टिक हेल्थ, एस्थेटिक्स तथा वेलनेस क्षेत्रमा कार्यरत हेल्दीहोमले आफ्नो २१औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। कम्पनीले दुई दशकभन्दा लामो यात्रापछि नयाँ पुस्ताको नेतृत्वमार्फत सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र वेलनेस क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

वि.सं. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले स्थापना गरेको हेल्दीहोमले हाल काठमाडौं र पोखरामा चार शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिएका छन्।

हेल्दीहोमले तौल व्यवस्थापन, बडी शेपिङ, स्किन तथा हेयर एनालाइसिसलगायतका सेवा प्रदान गर्दै आएको छ। कम्पनीले नेपालमा पहिलोपटक आधुनिक तौल व्यवस्थापन सेवा तथा प्रविधि भित्र्याएर वेलनेस क्षेत्रको विकासमा योगदान दिएको दाबी गरेको छ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा कम्पनीका लागि उपलब्धिसँगै थप जिम्मेवारीको सुरुआत भएको बताए। उनले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवा प्रतिको प्रतिबद्धताले हेल्दीहोमलाई यो स्थानसम्म पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा नेपालभित्र र बाहिरसमेत वेलनेस सेवाको स्तर उकास्ने लक्ष्य रहेको बताए।

उनले नयाँ पुस्ताको नेतृत्वमा कम्पनीले आफ्नो मूल्यमान्यता, सेवाभाव र ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, हेल्दीहोमका प्रबन्ध निर्देशक मन्दिप भुसालले संस्थापकहरूले निर्माण गरेको २१ वर्षको विरासतलाई आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए। आगामी वर्षहरूमा नयाँ शाखा विस्तार, सेवा विविधीकरण तथा गुणस्तरीय स्वास्थ्य सेवा अझ धेरै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ग्राहक सम्मान कार्यक्रम पनि सञ्चालन गरेको थियो। लक्की ड्रमार्फत एक जना विजेतालाई एक लाख रुपैयाँ नगद, दुई जनालाई वेट लस कार्यक्रम, तीन जनालाई स्किन केयर ह्याम्पर तथा चार जनालाई हेल्दीहोम गिफ्ट ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आगामी चरणमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको समावेश तथा वेलनेस र एस्थेटिक्स क्षेत्रमा थप प्रभाव सिर्जना गर्ने रणनीतिका साथ हेल्दीहोम अघि बढ्नेछ।


प्रतिक्रिया दिनुहोस्