२०औँ वर्षमा प्रवेश गरेको सिटी एक्सप्रेसद्वारा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरले स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान, जीवनदान–हामी सबैको योगदान’ भन्ने नारासहित कमलादीस्थित केन्द्रीय कार्यालय परिसरमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा कर्मचारी तथा अन्य सहभागीको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले वर्षभर उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई सम्मान तथा पुरस्कृत पनि गरेको थियो। कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा हास्य कलाकार जितु नेपालको समेत उपस्थिति रहेको थियो।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गरिरहेको छ। साथै, उक्त डिजिटल माध्यमबाट रेमिट्यान्स भुक्तानी सेवा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।













