स्वास्थ्य संस्था र विद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग, २६ थान ह्विलचेयर हस्तान्तरण
काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई ह्विलचेयर, स्वच्छ खानेपानीका सामग्री तथा अन्य आवश्यक उपकरण हस्तान्तरण गरेको छ।
बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न अस्पताल, स्वास्थ्यचौकी तथा स्थानीय तहमार्फत २६ थान ह्विलचेयर उपलब्ध गराएको जनाएको छ।
बैंकका अनुसार सल्यान जिल्ला अस्पताललाई १० थान, सल्यानकै त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई तीन थान, मोरङको रंगेली अस्पताललाई १० थान तथा रूपन्देहीको ओमसतिया गाउँपालिका–१ वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिका लागि तीन थान ह्विलचेयर हस्तान्तरण गरिएको छ।
यसैगरी, पथरी नगर अस्पताललाई चार थान तीन सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई तीन वटा विद्युतीय पानी डिस्पेन्सर तथा सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई चार वटा पानी शुद्धीकरण उपकरण (आरओ) प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरेको छ। आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुग्ने यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बैंकको भनाइ छ।













