सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा दार्चुलामा निःशुल्क आँखा शिविर सञ्चालन « Arthapath.com
२९ असार २०८३, सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा दार्चुलामा निःशुल्क आँखा शिविर सञ्चालन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा गरिएको परीक्षणका क्रममा ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको थियो।

तीमध्ये नौ जनाको डडेलधुरास्थित गेटा आँखा अस्पतालमा हालै सफल शल्यक्रिया गरिएको बैंकले जनाएको छ। शल्यक्रियाका लागि ११ जनालाई अस्पताल पुर्‍याइए पनि दुई जनाको स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव नभएको उल्लेख गरिएको छ।

बैंकका अनुसार दुवै निःशुल्क आँखा शिविरमार्फत ७ सयभन्दा बढी व्यक्तिको आँखा परीक्षण गरिएको थियो। शिविरमा ४८७ जनालाई निःशुल्क चस्मा तथा ६ सय जनालाई आवश्यक औषधि वितरण गरिएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्