राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच तलबी बचत खाता तथा सरल कर्जा सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
असार २९ गते सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ। साथै, कर्मचारीहरूले सहुलियत दरमा बैंकका अन्य बैंकिङ सेवा–सुविधासमेत प्राप्त गर्नेछन्।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वि.सं. २०२२ साल माघ १० गते स्थापना भएयता देशभर सेवा विस्तार गर्दै आएको छ। हाल बैंकले सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको छ।













