मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा एक्चुरियल छात्रवृत्ति कार्यक्रम सुरु
काठमाडौं । मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ माथेमयाटिकल साइन्स (एसएमएस) ले नेपालमा दक्ष एक्चुरी उत्पादन गर्ने उद्देश्यसहित योग्यता आधारित एक्चुरियल छात्रवृत्ति कार्यक्रम सुरु गरेका छन्।
बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञानको महत्व बढ्दै गए पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुई जना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चार वर्षे अध्ययन अवधिभर छात्रवृत्ति प्रदान गरिनेछ।
छात्रवृत्तिका लागि विद्यार्थीको छनोट पारदर्शी मूल्यांकन प्रक्रियाबाट हुनेछ। छनोट भएका विद्यार्थीको चार वर्षे अध्ययन अवधिका प्रत्येक सेमेस्टरको शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ। सरकारी विद्यालयसहित विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीले पनि कार्यक्रममा समान अवसर पाउने कम्पनीले जनाएको छ।
आर्थिक सहयोगसँगै यस सहकार्यले शैक्षिक संस्था र उद्योगबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विद्यार्थीलाई व्यावहारिक सिकाइ, इन्टर्नशिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसर पनि प्रदान गर्नेछ। यसबाट जोखिम व्यवस्थापन तथा बीमा क्षेत्रका वास्तविक चुनौतीसँग जुध्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ।
एक्चुरीहरूले बीमा योजनाको विकास, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि नेपालमा यस क्षेत्रमा दक्ष जनशक्तिको संख्या सीमित छ। मेटलाइफ नेपालले यस पहलमार्फत व्यक्तिगत करियर विकाससँगै नेपालको समग्र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अवसरमा पहुँचले भविष्य निर्माण गर्ने विश्वासका साथ प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्दै नेपालको वित्तीय भविष्यका लागि आवश्यक एक्चुरियल विशेषज्ञता विकासमा योगदान दिन यो साझेदारी गरिएको बताए।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साइन्स (एसएमएस) का निर्देशक नवराज पौडेलले यस सहकार्यले गुणस्तरीय शिक्षा र उद्योगको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको उद्देश्यलाई थप मजबुत बनाउने बताए। उनका अनुसार छात्रवृत्तिले योग्य विद्यार्थीलाई आत्मविश्वासका साथ एक्चुरियल क्षेत्रमा करियर बनाउन प्रेरित र सक्षम बनाउनेछ।













