नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना प्रवाहसम्बन्धी सम्झौता « Arthapath.com
३१ असार २०८३, बुधबार

नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना प्रवाहसम्बन्धी सम्झौता



काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्को जोखिम सम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत मौसमजन्य विपद्का पूर्वसूचना तथा आवश्यक जानकारी एसएमएसबाट पठाइनेछ।

यस सेवामार्फत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता विपद्का पूर्वसूचना प्रवाह गरिनेछ।

विपद् पूर्वसूचनाको प्रभावकारी प्रवाहका लागि जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन र फ्ल्यास फ्लड पोलिगनसहितका नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायतका नदी तटीय क्षेत्रका नक्सा पनि उपलब्ध गराइने जनाइएको छ।

त्यसैगरी जिल्लागत, स्थानीय तहगत तथा विशेष जोखिमयुक्त भूभागका नक्सा उपलब्ध गराइने व्यवस्था गरिएको छ, जसले प्रकोपको प्रकृति, प्रभाव क्षेत्र र जोखिमको स्तर पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले उक्त एसएमएस सेवा विगतदेखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। यसका लागि कम्पनीले पहिले उपलब्ध गराउँदै आएको ७०० वटा डाटा सहितको सिममा थप १०० वटा सिम थप्दै अब कुल ८०० वटा निःशुल्क डाटा सिम विभागलाई उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले २०७३ सालदेखि मौसमजन्य विपद्का पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएका छन्। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भइरहेको यस सेवाबाट लाखौं नागरिक लाभान्वित भएको तथा आगामी दिनमा पनि यसको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्