सात दशक लामो विरासत बोकेको बीएआईसीको नेपाल प्रवेश, लक्ष्मी ग्रुपसँग हात मिलाउँदै
सन् १९५८ मा सामान्य कारखानाबाट सुरु भई विश्वका ८० भन्दा बढी देशमा साम्राज्य फैलाएको चिनियाँ गाडी निर्माता बीएआईसी लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गरेको छ।
काठमाडौँ । विश्वको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी बीएआईसी (बेइजिङ अटोमोबाइल इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेड) नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ।
नेपालको व्यावसायिक क्षेत्रमा लामो समयदेखि विश्वासिलो पहिचान बनाएको लक्ष्मी ग्रुपसँगको सहकार्यमा बीएआईसीले नेपाली सडकमा आफ्नो उपस्थिति जनाउन लागेको हो। यो साझेदारीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने र नेपाली ग्राहकले विश्वस्तरीय प्रविधिको अनुभव लिन पाउने अपेक्षा गरिएको छ।
सन् १९५८ मा चीनको बेइजिङमा एउटा सानो अटोमोबाइल कारखानाका रूपमा स्थापना भएको बीएआईसीको इतिहास निकै रोचक र प्रेरणादायी छ। चीनकै पहिलो ठूलो परिमाणको अफ-रोड गाडी ‘बीजे२१२’ उत्पादन गरेर इतिहास रचेको यो कम्पनीले समयको गतिसँगै आफूलाई परिमार्जन गर्दै लग्यो।
करिब सात दशक लामो यो यात्रामा कम्पनीले निरन्तरको अनुसन्धान, प्रविधिमा लगानी र रणनीतिक साझेदारीमार्फत आफूलाई विश्वका ८० भन्दा बढी मुलुकमा विस्तार गरिसकेको छ।
आजको मितिमा बीएआईसी चीनको अग्रणी अटोमोबाइल समूह मात्र होइन, बरु विश्व बजारमा नयाँ ऊर्जा (न्यू इनर्जी) र स्मार्ट मोबिलिटीको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कम्पनी पनि हो।

विश्वप्रसिद्ध ब्रान्डहरू मर्सिडिज-बेन्ज र हुन्डाइसँगको दीर्घकालीन संयुक्त सहकार्यले यसको उत्पादन क्षमता र गुणस्तरलाई अझ बलियो बनाएको छ। कम्पनीले यात्रुवाहक र व्यावसायिक गाडीका साथै वातावरणमैत्री विद्युतीय सवारीसाधनको उत्पादनमा समेत ठूलो फड्को मारेको छ।
लक्ष्मी ग्रुपसँगको यो नयाँ साझेदारीपछि नेपाली गाडी प्रेमीहरूले आधुनिक प्रविधियुक्त र साहसिक यात्राका लागि उपयुक्त नयाँ पुस्ताका सवारीसाधनहरू चलाउन पाउनेछन्। यसका साथै लक्ष्मी ग्रुपको नेपालभर फैलिएको बलियो सेवा सञ्जाल, बिक्रीपछिको भरपर्दो सेवा र अटोमोबाइल क्षेत्रको दशकौँ लामो अनुभवको प्रत्यक्ष लाभ पनि ग्राहकले प्राप्त गर्नेछन्।













