आजदेखि नेपाली सडकमा देखिँदै प्रोटोन ई.मास ५, सस्तो विद्युतीय ह्याचब्याकमा नयाँ प्रतिस्पर्धा « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

आजदेखि नेपाली सडकमा देखिँदै प्रोटोन ई.मास ५, सस्तो विद्युतीय ह्याचब्याकमा नयाँ प्रतिस्पर्धा



काठमाडौं । मलेसियाली ब्रान्ड प्रोटोनकाे दोस्रो विद्युतीय मोडेल ‘प्रोटोन ई.मास ५’ आजदेखि नेपाली सडकमा देखिने भएकाे छ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज शुक्रबार ‘प्रोटोन ई.मास ५’ का दुई भेरियन्ट सार्वजनिक गर्न लागेकाे हाे ।

जगदम्बा मोटर्सले सहरी प्रयोगलाई लक्षित गर्दै ल्याएको यो नयाँ विद्युतीय ह्याचब्याकले सस्तो मूल्य वर्गको ईभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

यसअघि कम्पनीले १६० किलोवाट क्षमताको मोटरसहितको ‘प्रोटोन ई.मास ७’ विद्युतीय एसयूभी नेपाली बजारमा बिक्री गरिरहेको छ। अब ई.मास ५ सार्वजनिक भएसँगै कम्पनीले एसयूभीसँगै ह्याचब्याक खण्डमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने भएको हो।

मलेसियामा सन् २०२५ को अन्त्यतिर सार्वजनिक भएको ‘प्रोटोन ई.मास ५’ छोटो समयमै लोकप्रिय बन्दै सन् २०२६ मा त्यहाँका सर्वाधिक बिक्री हुने विद्युतीय सवारीमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ। सहरी यात्रालाई सहज, किफायती र व्यावहारिक बनाउने उद्देश्यले विकास गरिएको यो मोडेलले नेपालमा पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा कम्पनीको छ।

प्रोटोन ई.मास ५ मलेसियाली अटो निर्माता प्रोटोनको हालसम्मकै सबैभन्दा किफायती विद्युतीय कार हो। बी–सेग्मेन्टको कम्प्याक्ट ह्याचब्याकमा पर्ने यो मोडेल चिनियाँ अटो निर्माता जीलीको ‘सिङयुआन’ प्लेटफर्ममा आधारित छ। आधुनिक डिजाइन, आकर्षक केबिन र नयाँ पुस्ताका प्रविधिका कारण यो मोडेलले अन्तर्राष्ट्रिय बजारमै ध्यान तानेको छ।

नेपालमा उपलब्ध हुने ई.मास ५ दुई भेरियन्टमा आउनेछ। प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर क्षमताको लिथियम–आयन फस्फेट (एलएफपी) ब्याट्री दिइएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

त्यस्तै प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट-आवरको एलएफपी ब्याट्री रहेको छ, जसले ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

दुवै भेरियन्टमा जडान गरिएको विद्युतीय मोटरले ८५ किलोवाट शक्ति र १५० न्युटन–मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार कारको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ।

ई.मास ५ को अर्को विशेषता यसको रियर ह्विल ड्राइभ (आरडब्ल्युडी) प्रणाली हो। यस मूल्य वर्गका अधिकांश विद्युतीय ह्याचब्याकमा अगाडिका पाङ्ग्रामा शक्ति प्रवाह गर्ने प्रणाली प्रयोग भइरहेका बेला ई.मास ५ पछाडिका पाङ्ग्रामा शक्ति प्रवाह गर्ने प्रणालीसहित आउने नेपालकै पहिलो विद्युतीय ह्याचब्याक बनेको कम्पनीको दाबी छ। यसले गाडीको सन्तुलन, मोडमा नियन्त्रण र ड्राइभिङ अनुभवलाई अझ सहज बनाउने विश्वास गरिएको छ।

प्रविधिका हिसाबले पनि ई.मास ५ निकै आकर्षक रहेको कम्पनीले जनाएको छ। यसमा १४.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, की–लेस इन्ट्री, पुस–स्टार्ट बटन, ओभर–द–एयर सफ्टवेयर अपडेट, भ्वाइस कमाण्ड, वायरलेस मोबाइल चार्जिङ तथा स्वचालित वातानुकूलन प्रणाली जस्ता सुविधा उपलब्ध छन्।

सुरक्षातर्फ कारमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ प्रणाली, अटो होल्ड, एबीएस, ईबीडी लगायतका आधुनिक सुरक्षा सुविधा समावेश गरिएको छ। उच्च भेरियन्टमा उन्नत चालक सहायता प्रणाली (एडास) अन्तर्गतका केही सुरक्षा सुविधा पनि उपलब्ध गराइएको छ।

सामान राख्न पर्याप्त ठाउँ पनि ई.मास ५ को अर्को आकर्षण हो। पछाडिको ३७५ लिटरको बुट स्पेसलाई पछाडिको सिट फोल्ड गरेपछि १ हजार ३२० लिटरसम्म विस्तार गर्न सकिन्छ। साथै अगाडितर्फ ७० लिटर क्षमताको फ्रंक (फ्रन्ट ट्रंक) पनि उपलब्ध भएकाले अतिरिक्त सामान राख्न सहज हुने कम्पनीले जनाएको छ।

चार्जिङतर्फ प्रिमियम भेरियन्टले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २० मिनेटमै चार्ज गर्न सकिन्छ। घर वा कार्यालयमा एसी चार्जरमार्फत पनि सहज रूपमा चार्ज गर्न सकिने व्यवस्था रहेको छ।

प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टको मूल्य ३० लाख रुपैयाँभन्दा कम तथा प्रिमियम भेरियन्टको मूल्य ४० लाख रुपैयाँभन्दा कम रहने अनुमान गरिएको छ। यद्यपि नेपाली बजारका लागि यसको आधिकारिक मूल्य भने आज हुने सार्वजनिक कार्यक्रममै घोषणा गरिनेछ।


प्रतिक्रिया दिनुहोस्