एड्भेन्चरका सौखिनलाई नयाँ विकल्प, नेपाल आउँदै टीभीएस आरटीएक्स ३००
नेपाली भूगोल अनुकूल प्रविधि र शक्तिशाली इन्जिनसहित टीभीएसले आफ्नो पहिलो एड्भेन्चर बाइक ‘आरटीएक्स ३००’ नेपाली बजारमा उतार्ने तयारी गरेसँगै दुईपाङ्ग्रे सवारीप्रेमी माझ नयाँ कौतुहलता थपिएको छ।
काठमाडौँ । नेपालको भौगोलिक बनावट र खराब सडकका कारण पछिल्लो समय एड्भेन्चर मोटरसाइकलतर्फ बाइक चालकको आकर्षण निकै बढेको छ।
यही बढ्दो बजारलाई मध्यनजर गर्दै टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ‘आरटीएक्स ३००’ नेपाली बजारमा भित्र्याउने गृहकार्य सुरु गरेको छ।
नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले यो नयाँ मोडल सार्वजनिक गर्ने तयारीलाई अन्तिम रूप दिँदै गरेको बुझिएको छ।
हाल कम्पनीले यो मोटरसाइकललाई नेपालका विभिन्न सडकहरूमा गुडाएर परीक्षण गरिरहेको छ। नेपालमा सार्वजनिक हुने औपचारिक मिति तय नभए पनि आगामी साउन महिनामा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा यसलाई पहिलो पटक सार्वजनिक गरिने बलियो सम्भावना रहेको स्रोतले जनाए।
भारतीय बजारमा यसअघि नै राम्रो चर्चा र प्रतिक्रिया बटुलिसकेको यस मोटरसाइकललाई नेपाली बजारमा उचित मूल्यमा ल्याउन सके यसले आफ्नो वर्गका अन्य प्रतिस्पर्धीलाई कडा चुनौती दिने सहजै अनुमान गर्न सकिन्छ।
शक्तिशाली इन्जिन र नवीन कुलिङ प्रविधि
लामो यात्रा र कठिन उकाली ओरालीलाई ध्यानमा राखेर तयार पारिएको यो मोटरसाइकलमा २९९.१ सीसीको सिंगल सिलिण्डर, लिक्विड र वाटर कुल्ड, फोर भल्ब, डीओएचसी इन्जिन जडान गरिएको छ।
यसले अधिकतम ९ हजार आरपीएममा ३५ पीएस पावर र ७ हजार आरपीएममा २८.५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यसमा प्रयोग गरिएको विशेष डुअल कुलिङ प्रविधिले लामो यात्राका क्रममा पनि इन्जिनलाई बढी तात्न दिँदैन, जसका कारण मोटरसाइकलको कार्यक्षमतामा कुनै ह्रास आउँदैन।

सडकको अवस्था र मौसम अनुसार यात्रालाई सुरक्षित बनाउन यसमा अर्बन, रेन, टुर र र्याली गरी चारवटा फरक राइडिङ मोड उपलब्ध गराइएको छ। चालकले आफ्नो सुविधा र बाटोको अवस्था हेरेर सजिलै मोडहरू परिवर्तन गर्न सक्छन्, जसले शहरदेखि अफरोडसम्मको यात्रालाई रोमाञ्चक बनाउँछ।
क्लच बिनाको यात्रा
विशेषगरी लामो दूरीको यात्रा र अफरोडिङलाई सहज बनाउन आरटीएक्स ३०० मा बाइ-डाइरेक्सनल क्विकशिफ्टर प्रविधि राखिएको छ। यसको मद्दतले चालकले क्लच थिचिराख्नु नपर्ने र सहजै गियर परिवर्तन गर्न सक्ने सुविधा पाउँछन्।
योसँगै उपलब्ध स्लिप एण्ड असिस्ट क्लचले गियर परिवर्तन गर्दा क्लचमा अतिरिक्त बल लगाउनु पर्ने झन्झटबाट मुक्ति दिन्छ भने अचानक गियर डाउन गर्दा पछाडिको टायर लक हुनबाट समेत बचाउँछ।
लामो राजमार्गहरूमा यात्रा गर्दा चालकको थकान कम गर्न यसमा क्रुज कन्ट्रोलको सुविधा पनि थपिएको छ। यसले मोटरसाइकललाई एउटै गतिमा चलाइराख्न मद्दत गर्छ र लामो यात्रालाई थप आरामदायी बनाउँछ।

सञ्चार र सुरक्षाको बलियो संयोजन
यो मोटरसाइकललाई प्रिमियम लुक दिन यसमा ५ इन्चको रङ्गीन टीएफटी कन्सोल राखिएको छ। टीभीएसको एक्स कनेक्टिभिटीमार्फत स्मार्टफोन जोडेर चालकले स्क्रिनमै टर्न-बाई-टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट, म्युजिक कन्ट्रोल तथा म्याप मिररिङ जस्ता सुविधाहरू सजिलै प्रयोग गर्न सक्छन्।
सुरक्षाका दृष्टिकोणले पनि आरटीएक्स ३०० मा कुनै कसर बाँकी राखिएको छैन। कठिन सडकमा सन्तुलन कायम राख्न लिनियर ट्रयाक्सन कन्ट्रोल प्रणाली जडान गरिएको छ। त्यस्तै, अफरोड यात्रा गर्दा नियन्त्रण अझ बलियो बनाउन पछाडिको एबीएसलाई आवश्यकता अनुसार बन्द गर्न मिल्ने सुबिधा यसमा छ।
नेपाली भूगोल सुहाउँदो कस्टमाइजेसन

नेपालको उबडखाबड सडकलाई झेल्न सक्ने गरी यसको अगाडिको भागमा डब्लूपी इन्भर्टेड फोर्क र पछाडि आवश्यकता अनुसार मिलाउन मिल्ने मोनोशक सस्पेन्सन जडान गरिएको छ।
अगाडि १९ इन्च र पछाडि १७ इन्चको स्पोक ह्वीलसँगै २०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स भएकाले यो मोटरसाइकलले खराब बाटोमा पनि उत्कृष्ट प्रदर्शन गर्छ। यसमा दिइएको ब्लक प्याटर्नको ट्युबलेस टायरले हिलो र चिप्लो बाटोमा बलियो पकड प्रदान गर्छ।
लामो यात्रामा निस्कँदा धेरै सामान बोक्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले यसमा लगेज बक्सहरू सजिलै जडान गर्न मिल्ने गरी माउन्टहरू पहिले नै तयार गरिदिएको छ।
यसका अतिरिक्त, यो मोटरसाइकलको अर्को बलियो पक्ष भनेको ‘बिल्ड-टु-अर्डर’ विकल्प हो। ग्राहकले आफ्नो रुचि र आवश्यकता अनुसार अतिरिक्त सामान र फिचरहरू थपेर कम्पनीबाटै बाइकलाई कस्टमाइज गराएर अर्डर गर्न सक्छन्।
नवीनतम प्रविधि, बलियो इन्जिन र नेपाली भूगोल सुहाउँदो बनावटका कारण नयाँ एड्भेन्चर बाइक खोजिरहेका चालकहरूका लागि टीभीएसको यो नयाँ प्रस्तुति बजारमा एउटा बलियो र आकर्षक विकल्प बन्ने प्रस्ट देखिन्छ।













