भारतको विद्युतीय दुईपाङ्ग्रे बजारमा टीभीएस, बजाज, हिरो र एथरको कब्जा, कसरी पर्‍यो ओला संकटमा ? « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

भारतको विद्युतीय दुईपाङ्ग्रे बजारमा टीभीएस, बजाज, हिरो र एथरको कब्जा, कसरी पर्‍यो ओला संकटमा ?



काठमाडाैं । भारतको इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधन (ई-टु-ह्विलर) बजारमा स्थापित उत्पादक कम्पनीहरूको वर्चस्व बलियो बन्दै गएको छ।

सन् २०२६ को पहिलो ६ महिनामा भएको बजारको कुल वृद्धिमा टीभीएस मोटर, बजाज अटो, हिरो मोटोकर्प र इलेक्ट्रिक सवारी विशेषज्ञ कम्पनी एथर इनर्जीले मात्रै झन्डै ९६ प्रतिशत हिस्सा ओगट्न सफल भएका छन्।

अर्कोतर्फ, कुनै समय बजारको नेतृत्व गरिरहेको ओला इलेक्ट्रिकको बजार हिस्सा भने गत वर्षको तुलनामा लगातार खस्कँदै गएको तथ्याङ्कले देखाएको छ।

फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) को तथ्याङ्क अनुसार, सन् २०२६ को जनवरीदेखि जुनसम्मको अवधिमा ९ लाख ७० हजार ९ सय ९३ युनिट इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधन दर्ता भएका छन्, जुन गत वर्षको सोही अवधिको ६ लाख ३३ हजार ५ सय ९९ युनिटको तुलनामा ५३.३ प्रतिशतको वृद्धि हो।

बजारमा थपिएका ३ लाख ३७ हजार ३ सय ९४ सवारीसाधनमध्ये टीभीएस, बजाज, एथर र हिरोले मात्रै ३ लाख २२ हजार ६ सय २१ युनिट योगदान गरेका छन्, जुन कुल वृद्धिको ९५.६ प्रतिशत हो।

यी चार ठूला कम्पनीहरूको संयुक्त बजार हिस्सा सन् २०२५ को पहिलो ६ महिनामा ६६.६ प्रतिशत रहेकोमा सन् २०२६ को सोही अवधिमा बढेर ७६.७ प्रतिशत पुगेको छ। यसले बलियो ब्रान्ड, ठूलो उत्पादन क्षमता र देशव्यापी वितरण तथा सेवा नेटवर्क भएका सीमित कम्पनीहरूले नै बजारको वृद्धिलाई आफ्नो नियन्त्रणमा लिइरहेको स्पष्ट पार्छ। नयाँ आउने अन्य इलेक्ट्रिक कम्पनीहरू भने तीव्र बजार विस्तारका बाबजुद पनि निकै कमजोर अवस्थामा खुम्चिएका छन्।

इलेक्ट्रिक स्कुटर मात्रै उत्पादन गर्ने स्थापित कम्पनी एथरले आफ्नो स्थिति थप बलियो बनाएको छ। एथरको सवारी दर्ता ९१.१ प्रतिशतले बढेर १ लाख ६९ हजार २० युनिट पुगेको छ भने बजार हिस्सा १४ प्रतिशतबाट बढेर १७.४ प्रतिशत पुगेको छ। यसको विपरीत, ओला इलेक्ट्रिकको सवारी दर्ता ४४.१ प्रतिशतले घटेर ६५ हजार ९ सय ९९ युनिटमा सीमित भएको छ, जसका कारण ओलाको बजार हिस्सा १८.६ प्रतिशतबाट ओरालो लाग्दै ६.८ प्रतिशतमा झरेको छ।

सबैभन्दा ठूलो झट्का भने ओलालाई लागेको छ। कम्पनीको दर्ता संख्या एक वर्षमै ४४.१ प्रतिशत घटेर ६५ हजार ९ सय ९९ मा सीमित भएको छ। यससँगै ओलाको बजार हिस्सा १८.६ प्रतिशतबाट ६.८ प्रतिशत मा झरेको छ। मासिक बिक्रीको आधारमा पनि कम्पनीको गति सुस्त बनेको छ। सन् २०२५ मा मासिक करिब १७ हजार सवारी बिक्री गर्ने ओलाले अहिले औसतमा ११ हजार हाराहारी मात्र बिक्री गरिरहेको छ।

यद्यपि वर्षको सुरुआती कमजोर अवस्थाबाट कम्पनीले केही सुधारको संकेत देखाएको छ। जनवरीमा ७ हजार ८ सय ८ वटा मात्र दर्ता भएको ओलाको बिक्री जुनसम्म आइपुग्दा १६ हजार १ सय ५० पुगेको छ। दोस्रो त्रैमासिकमा कम्पनीले ४३ हजार ७ सय ४४ सवारी दर्ता गराएको छ, जुन पहिलो त्रैमासिकको २२ हजार २ सय ५५ को तुलनामा झन्डै दोब्बर हो। तर यो सुधारले बजार हिस्सा भने अझै पुनःस्थापित गर्न सकेको छैन।

टीभीएसले भने आफ्नो अग्रता कायमै राखेको छ। कम्पनीले पहिलो ६ महिनामा २ लाख ५१ हजार ४ सय ३८ विद्युतीय दुईपाङ्ग्रे सवारी दर्ता गराउँदै अघिल्लो वर्षको तुलनामा ६५.७ प्रतिशत वृद्धि हासिल गरेको छ। कम्पनीको बजार हिस्सा २३.९ प्रतिशतबाट २५.९ प्रतिशत पुगेको छ। यस अवधिमा बजारमा थपिएका नयाँ सवारीमध्ये करिब ३० प्रतिशत योगदान टीभीएसकै रहेको छ, जुन सबै कम्पनीमध्ये सबैभन्दा धेरै हो।

टीभीएसपछि बजाजले पनि तीव्र गति समातेको छ। कम्पनीले पहिलो ६ महिनामा २ लाख १८ हजार ८९ वटा विद्युतीय दुईपाङ्ग्रे सवारी बिक्री गर्दै ४८ प्रतिशत वृद्धि हासिल गरेको छ। जनवरीदेखि जुनसम्म बजाजको मासिक बिक्री ६३ प्रतिशत बढेको छ, जसका कारण बजार अग्रणी टीभीएससँगको दूरी उल्लेखनीय रूपमा घटेको छ। जनवरीमा ९ हजार ५ सयभन्दा बढी रहेको अन्तर जुनसम्म आइपुग्दा ४ हजारभन्दा कममा झरेको छ।

बजाजले चालु वर्षको सुरुमै तुलनात्मक रूपमा सस्तो चेतक सी–२५०१ सार्वजनिक गरेपछि कम्पनीको विद्युतीय स्कुटर व्यवसायले उल्लेखनीय गति लिएको विश्लेषण गरिएको छ। नयाँ मोडल र उत्पादन क्षमता विस्तारको बलमा कम्पनीले विद्युतीय दुईपाङ्ग्रे बजारमा नेतृत्व लिने रणनीति अघि बढाएको छ।

हिरोले भने अग्रणी चार कम्पनीमध्ये सबैभन्दा तीव्र वृद्धिदर हासिल गरेको छ। कम्पनीको दर्ता संख्या एक वर्षमै ३४ हजार ३ सय ७८ बाट बढेर १ लाख ६ हजार १९ पुगेको छ। यससँगै बजार हिस्सा ५.४ प्रतिशतबाट १०.९ प्रतिशत पुगेको छ। केवल ६ महिनामै हिरोले अघिल्लो वर्षभरि गरेको कुल बिक्रीको हाराहारीमा सवारी बिक्री गरेर गरेर बजारमा बलियो चुनौती खडा गरेको छ।

एथरले पनि आफ्नो उपस्थिति थप बलियो बनाएको छ। कम्पनीको दर्ता संख्या ९१.१ प्रतिशत बढेर १ लाख ६९ हजार २० पुगेको छ। बजार हिस्सा १४ प्रतिशतबाट १७.४ प्रतिशत पुगेको छ। थपिएका नयाँ सवारी संख्याका आधारमा एथरले ८० हजार ५ सय ६७ सवारी बजारमा थप्दै टीभीएसपछि दोस्रो ठूलो योगदान दिएको छ।

समग्र उद्योगको कुरा गर्दा, सन् २०२६ को पहिलो ६ महिनामा प्रतिमहिना औसत १ लाख ६२ हजार इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी दर्ता भइरहेका छन्। यही रफ्तार कायम रहे यो वर्ष समग्र बजार १९ लाख ४० हजार युनिट पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२५ को तुलनामा ४५ प्रतिशतको विस्तार हुनेछ।

समग्रमा हेर्दा भारतको विद्युतीय दुईपाङ्ग्रे बजार तीव्र गतिमा विस्तार भइरहे पनि यसको लाभ मुख्यतः टीभीएस, बजाज, हिरो र एथरजस्ता स्थापित कम्पनीहरूले उठाइरहेका छन्। अर्कोतर्फ, एक समयको बजार अग्रणी ओलाले आफ्नो पुरानो स्थान जोगाउन अझै संघर्ष गरिरहनुपरेको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्