बजेटमार्फत घोषणा गरिएकाे ‘लखपति योजना’ कार्यान्वयनमा, दैनिक नगद उपहार तथा महिनामा दुई जनालाई १०-१० लाख
काठमाडौँ । सरकारले कर प्रणालीलाई प्रभावकारी बनाउन र उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गरेकाे छ।
अब एक सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्ताले नगद उपहार जित्ने अवसर पाउनेछन्। कार्यक्रमअन्तर्गत हरेक दिन एक जना नेपाली लखपति बन्ने व्यवस्था गरिएको छ भने प्रत्येक महिनामा दुई जनाले बम्पर उपहारस्वरूप १०–१० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको यो योजना कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ।
कार्यविधिअनुसार वस्तु तथा सेवा खरिद गर्दा सक्कली बिल लिने संस्कृतिको विकास गर्ने, कर अनुपालन बढाउने तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएकाे हाे।
कार्यक्रममा सहभागी हुन नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि एक पटकमा कम्तीमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरेको हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा विद्युतीय माध्यमबाट गर्न सकिनेछ, तर खरिदपछि अनिवार्य रूपमा भ्याट वा प्यान दर्ता भएको व्यवसायीले जारी गरेको सक्कली बिल लिनुपर्नेछ। प्रत्येक खरिद बिल र त्यससँग सम्बन्धित विद्युतीय भुक्तानीको आधारमा प्रणालीबाट एउटा उपहार टिकट उपलब्ध गराइने व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार प्रत्येक महिनाको पहिलो दिनदेखि मसान्तसम्म प्रणालीमा प्रविष्ट भएका योग्य बिलहरू सोही महिनाको उपहार कार्यक्रममा समावेश गरिनेछन्। हालका लागि प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा विजेताको घोषणा गर्ने तयारी गरिएको सरकारले जनाएको छ। उपहार छनोट भने कम्प्युटर प्रणालीमार्फत पूर्ण रूपमा स्वचालित र पारदर्शी ढंगले गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमबाट उपभोक्तामा सक्कली बिल लिने बानीको विकास हुनुका साथै व्यवसायीलाई वास्तविक कारोबार अभिलेख राख्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। यसले मूल्य अभिवृद्धि कर (भ्याट) र प्यान प्रणालीलाई थप प्रभावकारी बनाउने तथा कर छली नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।













