सामाजिक सुरक्षा कोषमा ३० लाख योगदानकर्ता आबद्ध, १.१६ खर्ब बढी योगदान
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म योगदानकर्ताबाट संकलित रकम एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ पुगेको छ।
कोषका अनुसार असार मसान्तसम्म सूचीकृत रोजगारदाता तथा योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो। हाल कोषमा आबद्ध रोजगारदाताको संख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २०० पुगेको छ।
यस अवधिमा कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
त्यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ रुपैयाँ वितरण गरिएको छ।
त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रुपैयाँ रकम उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सामाजिक सुरक्षा प्रणालीमा समेट्न थालेपछि योगदान रकम उल्लेख्य रूपमा बढेको कोषको भनाइ छ। साथै पेन्सन, स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षा कार्यक्रमको विस्तारसँगै कोषप्रति रोजगारदाता र श्रमिक दुवैको आकर्षण बढ्दै गएको जनाएको छ।













