७ श्रावण २०८३, बिहिबार

अन्तर्राष्ट्रिय बजारमा माग ह्वात्तै बढेपछि ९ हजारभन्दा बढी कर्मचारी थप्दै बीवाईडी



अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग अभूतपूर्व रूपमा बढेपछि चिनियाँ कार निर्माता बीवाईडीले ९ हजारभन्दा बढी नयाँ कर्मचारीका लागि भर्ना अभियान सुरु गरेको छ।

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग तीव्र रूपमा बढेपछि चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले ठूलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ।

जिमेन न्युजका अनुसार कम्पनीले शेनशान विशेष सहकार्य क्षेत्रमा रहेको आफ्नो औद्योगिक आधारका लागि ९ हजारभन्दा बढी पदमा पदपूर्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो। यसअन्तर्गत एबु गाडीका पार्टपुर्जा बनाउने प्लान्ट र सियाओमो सवारी साधन निर्माण केन्द्रका लागि कर्मचारी माग गरिएको छ।

कम्पनीले अपरेटर, प्राविधिक जनशक्ति, गुणस्तर निरीक्षकदेखि व्यवस्थापकीय तहसम्मका विविध पदहरूमा नयाँ भर्ना लिन लागेको जनाएको छ।

मागमा व्यापक वृद्धि

विदेशी बजारमा बीवाईडीका गाडीहरूको बिक्रीमा उछाल आएका बेला कम्पनीले यो विस्तार योजना अघि बढाएको हो। सन् २०२५ मा बीवाईडीले विदेशी बजारमा १० लाख ५० हजार थान यात्रुवाहक तथा पिकअप गाडी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १४५ प्रतिशतको वृद्धि हो।

त्यसैगरी सन् २०२६ को पहिलो छ महिनामा मात्रै कम्पनीको वैदेशिक बिक्री करिब ७ लाख ८९ हजार ४ सय पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतको वृद्धि हो। कम्पनीले यस वर्ष वैदेशिक बजारमा १५ लाख थान गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।

पारिश्रमिक र भर्नासम्बन्धी विवरण

कर्मचारी भर्ना अभियान शेनशान आधार क्षेत्रका विभिन्न विभागहरूमा केन्द्रित छ। जसमा बीवाईडीको ११ औँ महाशाखा (सियाओमो पार्क) ले सिट मेटल वर्कर, भित्री सजावट (अपहोल्स्ट्री) प्राविधिक र गोदामका कर्मचारी गरी ४,८०० जना मागेको छ।

त्यसैगरी १५ औँ महाशाखाको सियाओमो पार्कका लागि एसेम्ब्ली अपरेटर, वेल्डिङ प्राविधिक र फोमिङ प्राविधिक गरी १,२०० जना तथा सोही महाशाखाको एबु पार्कका लागि अपरेटर, मेसिन एड्जस्टर र वेल्डर गरी २,००० जना जनशक्ति माग गरिएको छ।

कामदारहरूको पारिश्रमिकको कुरा गर्दा सामान्य अपरेटरको सुरुवाती तलब मासिक ५,००० युआन (करीव १ लाख १२ हजार रुपैयाँ) तोकिएको छ।

वेल्डर र इलेक्ट्रिसियनजस्ता प्राविधिक तथा विशिष्टीकृत भूमिकामा रहेका कर्मचारीले मासिक १०,००० युआन (२,२४,००० रुपैयाँ) सम्म पाउने छन्। वरिष्ठ प्राविधिक तथा मोल्ड डिजाइनरहरूले भने मासिक १५,००० देखि २०,००० युआन (३,३६,००० देखि ४,४८,००० रुपैयाँसम्म) पारिश्रमिक पाउने बताइएको छ।

शेनशान बीवाईडी अटोमोटिभ इन्डस्ट्रियल पार्क कम्पनीको एउटा महत्त्वपूर्ण ‘सुपर फ्याक्ट्री’ हो। यहाँ फाङ चेङ बाओ टाइ ७ (एफसीबी टाइ ७) जस्ता मध्यमदेखि उच्च स्तरका चर्चित मोडलका साथै निर्यातलाई लक्षित गरिएका सोङ प्लस र सोङ प्रो जस्ता गाडी उत्पादन हुन्छन्।

गत वर्ष मात्रै यस भण्डारबाट ३ लाखभन्दा बढी गाडी उत्पादन भएका थिए। यो औद्योगिक पार्क पूर्ण क्षमतामा सञ्चालनमा आउँदा यसको वार्षिक उत्पादन मूल्य २ खर्ब २० अर्ब युआन (४९ खर्ब २८ अर्ब रुपैयाँ) पुग्ने अनुमान गरिएको छ।

विश्वभर विस्तारको रणनीति

बीवाईडीको यो आक्रामक भर्ना अभियान उसको बृहत् विश्वव्यापी रणनीतिको एउटा हिस्सा हो। कम्पनीले विश्वका विभिन्न मुलुकमा स्थानीय स्तरमै उत्पादन थाल्ने कार्यलाई तीव्र बनाएको छ।

ब्राजिलस्थित स्थानीय प्लान्टले भर्खरै १ लाखौँ नयाँ ऊर्जा गाडी उत्पादन गरेको खुसीयाली मनाएको छ, जहाँ अहिले ५,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। हंगेरीको सेगेडमा युरोपका लागि बीवाईडीको पहिलो यात्रुवाहक गाडी बनाउने प्लान्टको निर्माण कार्य जारी छ।

थाइल्यान्डको रायोङमा रहेको प्लान्ट बीवाईडीको पहिलो वैदेशिक यात्रुवाहक गाडी निर्माण आधार हो। जहाँबाट अहिले बीवाईडी डल्फिन, एट्टो ३, सिल ५ डीएम-आई, सिलायन ५ डीएम-आई र सिलायन ६ डीएम-आई गरी पाँचवटा मोडल उत्पादन भइरहेका छन्।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार जुन महिनामा मात्रै चीनबाट १० लाखभन्दा बढी गाडी निर्यात भएका थिए। सन् २०२६ को पहिलो छ महिनामा चीनबाट ५० लाखभन्दा बढी गाडी निर्यात भइसकेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६५.३ प्रतिशतको वृद्धि हो। चीनबाट गाडी निर्यात गर्ने प्रमुख कम्पनीहरूमा चेरी, बीवाईडी, एसएआईसी, गिली र चाङ्गान रहेका छन्।


प्रतिक्रिया दिनुहोस्