नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्दा व्यापार घाटा मात्रै १७ खर्ब ८१ अर्ब, निर्यातको हिस्सा झनै खुम्चियो
काठमाडौँ । नेपालको अर्थतन्त्रमा आयातको निर्भरता अझ गहिरिँदै गएको छ। गत आर्थिक वर्षमा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै बढे पनि व्यापार घाटा भने १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको थियो।
एक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
त्यसैगरी, समीक्षा अवधिमा वस्तु निर्यात पनि बढेको छ। गत आर्थिक वर्षमा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
यद्यपि, आयातको वृद्धि निर्यातको तुलनामा बढी भएकाले व्यापार घाटा पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशत ले बढेर १७ खर्ब ८१ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो।
तथ्यांकले नेपालको वैदेशिक व्यापारमा आयातकै वर्चस्व अझ बलियो बन्दै गएको देखाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा बढेकाे छ भने निर्यातकाे हिस्सा खुम्चिएकाे छ। यस अवधिमा वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र १३.०७ प्रतिशतमा सीमित भएको छ ।
यस्तै अघिल्लो आर्थिक वर्ष ६.५१ रहेको आयात–निर्यात अनुपात गत आर्थिक वर्ष २.१० प्रतिशत बढेर ६.६५ पुगेको छ। यसले प्रत्येक एक रुपैयाँ बराबरको निर्यात हुँदा नेपालले करिब ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरिरहेको अवस्था देखाउँछ।













