सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु
काठमाडौँ। सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै इनोभेसन क्याम्पसअन्तर्गत सञ्चालन गरिएको कोडिङ तथा प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सामसङ नेपालले उनीहरूलाई सम्मान गरेको हो ।
त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी नयाँ पाठ्यक्रमका लागि आवेदन पनि खुला गरिएको छ । सामसङका अनुसार नयाँ एआई कार्यक्रमले नेपालका युवालाई उदीयमान प्रविधिसम्बन्धी ज्ञान, व्यावहारिक सीप, उद्योगसँगको प्रत्यक्ष अनुभव तथा करिअर मार्गदर्शन उपलब्ध गराउँदै रोजगारीका अवसर बढाउन सहयोग गर्नेछ।
गत डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ तालिममा सहभागी विद्यार्थीले प्राविधिक सीपसँगै व्यावहारिक परियोजनामा काम गर्ने अवसर र उद्योगसँग प्रत्यक्ष परिचय पाएका थिए। कार्यक्रम सफलतापूर्वक पूरा गरेका ५४ विद्यार्थीलाई विशेष समारोहमार्फत सम्मान गरिएको छ। उत्कृष्ट १० विधार्थीलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालका युवामा उल्लेखनीय क्षमता रहेको बताउँदै कृत्रिम बुद्धिमत्ताले विश्वका सबै उद्योगलाई रूपान्तरण गरिरहेको वर्तमान अवस्थामा डिजिटल जनशक्ति विकास झनै महत्वपूर्ण बनेको उल्लेख गरे। उनका अनुसार सामसङ इनोभेसन क्याम्पसले युवालाई आवश्यक सीप, आत्मविश्वास र नवीन सोच प्रदान गर्दै नेपालको डिजिटल भविष्य निर्माणमा योगदान पुर्याइरहेको छ।
सन् २०२३ मा सामसङको विश्वव्यापी सामाजिक उत्तरदायित्व अभियान “टुगेदर फर टुमरो! इनेबलिङ पिपुल” अन्तर्गत नेपालमा सुरु गरिएको सामसङ इनोभेसन क्याम्पसले सूचना प्रविधि तथा उदीयमान प्रविधिमा उद्योगसँग सम्बन्धित सीप विकास गराउँदै आएको छ। यस कार्यक्रमले सञ्चार क्षमता, सहकार्य, आलोचनात्मक सोच तथा कार्यस्थलमा आवश्यक पर्ने अन्य व्यावसायिक दक्षता विकासमा समेत जोड दिएको कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ एआई कार्यक्रम व्यावहारिक तथा वास्तविक परियोजनामा आधारित हुने जनाएको छ। यसले नेपालमा बढ्दो एआई जनशक्तिको माग सम्बोधन गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
यस्तै, सामसङ नेपालले कार्यक्रममा सहभागी भइसकेका विद्यार्थीलाई उद्योगका विज्ञ र आफ्ना कर्मचारीसँग जोड्दै मार्गदर्शन तथा करिअर परामर्श उपलब्ध गराउन सामसङ इनोभेसन क्याम्पस एलुम्नाई नेटवर्क स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ।
सामसङका अनुसार विश्वविद्यालय, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालमा एआई इकोसिस्टम विस्तार गर्न तथा डिजिटल रूपान्तरणलाई गति दिन कम्पनी प्रतिबद्ध रहेको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शङ्करप्रसाद खनाल, त्रिभुवन विश्वविद्यालय कलेज अफ इन्जिनियरिङका डिन सुशीलबहादुर बज्राचार्य, सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङ, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख अजयकुमार झा तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।













