भारतमा १५ वर्ष ब्याट्री वारेन्टीसहित कियाको ‘साइरोस ईभी’ सार्वजनिक, कहिले आउँछ नेपाल ?
काठमाडौँ । किया इन्डियाले आम उपभोक्तालाई लक्षित गर्दै आफ्नो दोस्रो विद्युतीय एसयुभी साइरोस ईभी सार्वजनिक गरेको छ। गाडी सार्वजनिक भएसँगै कम्पनीले २५ हजार भारतीय रुपैयाँमा यसको देशव्यापी अग्रिम बुकिङ समेत खुला गरेको छ।
यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ। ५१.४ किलोवाट–घण्टाको ब्याट्री संस्करणले एकपटकको पूरा चार्जमा सेगमेन्टकै सबैभन्दा धेरै ५२६ किलोमिटर र ४२ किलोवाट–घण्टाको ब्याट्री संस्करणले ४४३ किलोमिटरसम्मको रेन्ज (दूरी) दिने प्रमाणित भएको छ।
यो गाडी आफ्नो वर्गमा ५०० किलोमिटरको दायरा पार गर्ने पहिलो गाडी हो। यसमा १७१ पीएस क्षमताको शक्तिशाली मोटर छ, जसले मात्र ८.१ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति लिन सक्छ। १०० किलोवाटको डिसी फास्ट चार्जरबाट यसको ब्याट्रीलाई मात्र ३९ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
विद्युतीय गाडी किन्दा ग्राहकमा हुने ब्याट्री बिग्रने, पुन: बिक्री गर्दा मूल्य घट्ने र सुरुवाती उच्च लागतको चिन्तालाई हटाउन कियाले विशेष प्याकेज ल्याएको छ। यस अन्तर्गत आजीवन (१५ वर्ष) उच्च भोल्टेज ब्याट्री वारेन्टी, सुरक्षित पुनर्खरिद (बाइब्याक) ग्यारेन्टी र लचिलो ब्याट्री–एज–अ–सर्भिस (बिएएएस) फाइनान्सिङ सुविधा दिइएको छ।
चार्जिङलाई सजिलो बनाउन ‘के–चार्ज’ मार्फत भारतभरका २० हजार ३०० भन्दा बढी चार्जिङ पोइन्टलाई ‘माईकिया’ एपको एउटै डिजिटल वालेटमा जोडिएको छ।
भविष्यमुखी डिजिटल टाइगर फेस डिजाइन मा बनेको साइरोस ईभीमा १७ इन्चको एयरो एलोय ह्विल र सेगमेन्टमै पहिलो ‘अटो स्ट्रिमलाइन डोर ह्यान्डल’ राखिएको छ। क्याबिन भित्र ३० इन्चको ठूलो डिजिटल ट्रिनिटी प्यानोरामिक डिस्प्ले छ, जसमा १२.३ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चकै इन्फोटेनमेन्ट स्क्रिन जोडिएका छन्।
साथै हार्मन कार्डनका ८ वटा प्रिमियम स्पिकर, ताररहित एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओभर–द–एयर (ओटिए) सफ्टवेयर अपडेट, ६४ रङको एम्बियन्ट लाइट, प्यानोरामिक सनरुफ र १६ लिटरको अगाडिको ट्रंक (फ्रन्क) जस्ता सुविधाहरू छन्।
सुरक्षाका लागि यसमा लेभल–२ एडीएस (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) अन्तर्गत १६ वटा अटोमेटिक सुरक्षा फिचर्स राखिएका छन्। यसका साथै ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायरको हावाचाप मापन प्रणाली (टिएमपिएस) सहित २५ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू उपलब्ध छन्।
यो गाडी दुई ब्याट्री प्याक अन्तर्गत ७ वटा ट्रिमहरू (एचटिके, एचटिके+, एचटिएक्स, एचटिके+ इआर, एचटिएक्स इआर, एचटिएक्स+ इआर र एक्स–लाइन इआर), ९ वटा बाहिरी रङ र ३ वटा भित्री थिमको विकल्पमा उपलब्ध हुनेछ।
किया इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ग्वाङ्गगु लीले साइरोस ईभीले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र आकर्षक ओनरसिप प्याकेजमार्फत ग्राहकको मन जित्ने र धेरै परिवारलाई इलेक्ट्रिक गाडी अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
भारतीय बजारमा सार्वजनिक भएको यो नयाँ गाडीलाई कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले नेपाली बजारमा भित्र्याउनेछ। नेपालमा यो आकर्षक एसयुभी सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुवाती महिनाहरूमा उपलब्ध हुने अनुमान गरिएको छ।













