संस्थापक दिवसमा हुलास समूहको सामाजिक उत्तरदायित्व अभियान
काठमाडौं । स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसको अवसरमा हुलास समूहले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरेको छ।
समूहले औद्योगिकीकरण, उद्यमशीलता र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय दिवाकर गोल्छाले पुर्याएको योगदानलाई स्मरण गर्दै प्रत्येक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ। यस वर्ष पनि विशेष महत्वका साथ दिवस मनाइएको समूहले जनाएको छ।
संस्थापक दिवसका अवसरमा उद्योगका उत्पादन केन्द्र, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखाहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ।
त्यसैगरी स्थानीय विद्यालय र वृद्धाश्रममा भोजन वितरण गरी सामुदायिक सेवामा योगदान पुर्याइएको समूहले जनाएको छ। किर्तिपुर अस्पताललाई डायलसिस उपकरणसमेत हस्तान्तरण गरिएको छ।
हुलास समूहका अनुसार स्वर्गीय दिवाकर गोल्छाले देशलाई औद्योगिकीकरण र रोजगारीतर्फ अग्रसर बनाउने लक्ष्यसहित विभिन्न क्षेत्रमा उद्योग स्थापना गरेका थिए। कर्कट जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिलका भाँडाकुँडा, जीआई सामग्री, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योगमार्फत हाल करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
समूहले गुणस्तरीय कर्कट जस्तापाता स्वदेशमै उत्पादन गर्ने उद्देश्यसहित स्थापना गरिएको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा नेपालको अर्थतन्त्र, औद्योगिक विकास र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।
दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र अन्य सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको समूहले जनाएको छ।













