१५ श्रावण २०८३, शुक्रबार

ट्रान्क्विलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित वेलनेस ब्रान्ड



काठमाडौं। ट्रान्क्विलिटी स्पा प्रालिले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। योसँगै कम्पनीले आफूलाई नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्डका रूपमा स्थापित गरेको जनाएको छ।

कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्राप्त भएको हो। यूआरएस केएएस र आईएएफबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणीकरण निकाय हो। प्राप्त प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा लागू गरिएको गुणस्तर व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता दिएको कम्पनीको दाबी छ।

प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधाहरू समावेश छन्। कम्पनीका अनुसार यसले सञ्चालन प्रणाली, सरसफाइका मापदण्ड तथा ग्राहक सेवाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरअनुसार रहेको पुष्टि गर्छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजूले आईएसओ प्रमाणपत्र केवल उपलब्धि मात्र नभई ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार कम्पनीका सबै शाखामा समान स्तरको सेवा, सरसफाइ र हेरचाह सुनिश्चित गर्ने लक्ष्यका साथ गुणस्तर व्यवस्थापन प्रणाली कार्यान्वयन गरिएको हो।

त्यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजूले आईएसओ ९००१:२०१५ प्राप्त गर्नु वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको प्रणाली र मापदण्डको औपचारिक मान्यता भएको उल्लेख गरे। उनले यसले कम्पनीको निरन्तर गुणस्तर सुधार र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताए।

कम्पनीका अनुसार ट्रान्क्विलिटी स्पाले विगत १८ वर्षदेखि नेपाल तथा विदेशमा वेलनेस सेवा प्रदान गर्दै आएको छ। काठमाडौंको लाजिम्पाटबाट सुरु भएको यसको सेवा हाल काठमाडौं, चितवन, पोखरा, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा विस्तार भएको छ।

हाल कम्पनीमा ३०० भन्दा बढी कर्मचारी कार्यरत छन्। साथै, ट्रान्क्विलिटी इन्टरनेशनल ब्युटी एन्ड स्पा एकेडेमीमार्फत ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेससम्बन्धी सीपमूलक तालिम प्रदान गरिसकेको कम्पनीले जनाएको छ।