१७ श्रावण २०८३, आइतबार

पशुपति खाद्य उद्योगले नौ महिनामा गर्‍यो १० अर्ब १८ करोडको व्यापार, ८५ प्रतिशत निर्यात भारततिर



पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ भने कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातले ओगटेको छ।

काठमाडौँ । नेपालको प्रतिष्ठित खाद्य उद्योगमध्ये एक मानिने पशुपति खाद्य तेल उद्योगले आफ्नो व्यापारिक कारोबारमा उल्लेख्य सफलता हासिल गरेको छ।

पछिल्लो नौ महिनाको अवधिमा मात्रै कम्पनीले १० अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ। यो व्यापारिक आकार अघिल्लो आर्थिक वर्षभरिमा भएको कुल आम्दानीको लगभग नजिक पुगेको छ।

यसअघि कम्पनीले अघिल्लो आर्थिक वर्षभरमा १० अर्ब ३० करोड रुपैयाँको कुल आम्दानी गरेको थियो। पछिल्ला केही वर्षयता कम्पनीको व्यापार निरन्तर उकालो लाग्दै आएको वित्तीय विवरणहरूले देखाएका छन्।

भारततर्फको बलियो बजार पकड

कम्पनीको आम्दानीको मुख्य मेरुदण्डका रूपमा भारततर्फको निर्यात देखिएको छ। पछिल्लो नौ महिनाको अवधिमा भएको कुल बिक्रीमध्ये करिब ८५ प्रतिशत हिस्सा भारतमा गरिएको निर्यातबाट मात्रै प्राप्त भएको छ। नेपालमा प्रशोधित हुने खाद्य तेल तथा वनस्पति घ्यूको मुख्य गन्तव्य भारतीय बजार बन्दै आएको छ जसले गर्दा कम्पनीको बाह्य व्यापार बलियो बन्दै गएको छ।

विगतका वर्षहरूसँग तुलना गर्दा कम्पनीको कारोबारमा ठूलो फेरबदल आएको पाइन्छ। आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७ करोड १० लाख रुपैयाँ रहेको आम्दानी त्यसअघिका वर्षहरूमा क्रमशः ३ अर्ब ६६ करोड, ७ अर्ब ७८ करोड र ४ अर्ब ६२ करोडको हाराहारीमा रहेको थियो। समयसँगै उत्पादन र बजारको दायरा विस्तार हुँदा आम्दानीको ग्राफ पनि उकालो लागेको हो।

उत्पादन, ब्रान्ड र स्वामित्वको संरचना

सन् १९८२ मा स्थापित यो उद्योग नेपालको एक प्रमुख परिष्कृत खाद्य तेल र वनस्पति घ्यू उत्पादकका रूपमा परिचित छ।

यसले मुख्यतया विदेशबाट कच्चा खाद्य तेल आयात गरी त्यसलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरेर सोयाबिन, सूर्यमुखी र पाम ओलिन तेलका साथै वनस्पति घ्यू उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू बजारमा ‘पोस्टम्यान’, ‘हनुमान’, ‘हेल्लो’ र ‘पशुपति’ जस्ता लोकप्रिय ब्रान्डका नामबाट बिक्री हुँदै आएका छन्।

उद्योगको कर्पोरेट तथा दर्ता कार्यालय मोरङको विराटनगर–८ मा अवस्थित छ भने यसको मुख्य उत्पादन केन्द्र सुनसरीको दुहबी उपमहानगरपालिका–८ मा सञ्चालनमा छ। स्वामित्वको हिसाबले यसमा नन्द किशोर राठी १३ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनीका रूपमा रहेका छन्। बाँकी स्वामित्व भने शारदा, राठी र वैद्य परिवारका अन्य १९ जना सेयरधनीहरूबीच बाँडिएको छ।

आयातमा निर्भरता र सम्भावित चुनौतीहरू

कम्पनीको उत्पादन प्रक्रिया पूर्ण रूपमा आयातित कच्चा पदार्थमा निर्भर रहेको छ। नेपालभित्र उत्पादन हुने कच्चा खाद्य तेलले कुल आवश्यकताको सामान्य अंश मात्रै धान्ने हुनाले अधिकांश कच्चा पदार्थ विदेशबाट मगाउनुपर्ने बाध्यता छ। यसका लागि कम्पनीले अर्जेन्टिना, युक्रेन, रुस र ब्राजिललगायतका देशहरूबाट कच्चा तेल आयात गर्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावले कम्पनीको व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

विशेष गरी आयात नीतिमा हुने फेरबदल, प्रतिकूल मौसमका कारण कच्चा पदार्थको मूल्यमा आउने अस्थिरता, विश्व बजारमा तेलको मूल्यमा हुने उतारचढाव र अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तनले कारोबार, नगद प्रवाह तथा नाफामा असर पार्न सक्छ। यसका साथै, विश्वव्यापी आपूर्ति शृंखलामा देखिने अवरोधहरूले कच्चा पदार्थको आपूर्ति ढिलाइ हुने र मौज्दात व्यवस्थापनको लागत बढ्ने जोखिम पनि उत्तिकै रहेको देखिन्छ।

व्यापार विस्तार र सञ्चालनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कुल ८ अर्ब रुपैयाँ बराबरको कर्जा सुविधा उपयोग गरेको छ। यसमध्ये ३ अर्ब रुपैयाँ फन्ड-बेस्ड र बाँकी ५ अर्ब रुपैयाँ नन-फन्ड-बेस्ड कर्जाका रूपमा रहेको छ।