१८ श्रावण २०८३, सोमबार

हिमालयन लघुवित्तको नाफा ४९% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाले नाफा, आम्दानी, प्रतिशेयर आम्दानी तथा लाभांश क्षमतालगायत प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा संस्थाले १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ करोड १४ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो करिब ४९.१८ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ३७ करोड ८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि १० करोड ५४ लाख रुपैयाँबाट बढेर १५ करोड २१ लाख रुपैयाँ पुगेको छ।

संस्थाको लाभांश क्षमता समेत बलियो बनेको छ। नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समावेश गरेपछि असार मसान्तसम्म वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ पुगेको छ। चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा कायम भएकाले आगामी दिनमा समेत लाभांश वितरणको सम्भावना सकारात्मक देखिएको छ।

असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ पनि संस्थाले प्रगति गरेको छ। सदस्यबाट संकलित निक्षेप तथा सापटी ४ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। ग्राहकलाई प्रवाह गरिएको कर्जा ४ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, कुल सम्पत्ति ५ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ६ अर्ब १४ करोड ६९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ३१ रुपैयाँ २६ पैसा पुगेको छ। यद्यपि खराब कर्जा अनुपात ९.०४ प्रतिशत रहेकाले त्यसको प्रभावकारी व्यवस्थापन र असुली गर्न सके आगामी दिनमा वित्तीय प्रदर्शन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।