१ कार्तिक २०८३, आइतबार

जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा जोड दिँदै इन्फिनिटी लघुवित्तको क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सम्पन्न



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले “म्यानेजिङ रिस्क, बिल्डिङ् कन्फिडेन्स” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले पोखरास्थित ल्याण्डमार्क होटलमा साउन १५ र १६ गते आयोजना गरेको कार्यक्रममा संस्थाका १०२ वटै शाखाका शाखा प्रमुख, अनुगमन अधिकृत, विभागीय प्रमुख तथा व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार घिमिरे प्रमुख अतिथि तथा सञ्चालक रमेश कुमार र संस्थापक सेयरधनी दिनेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन नायब प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्णु कुमार घिमिरेले संस्थागत सफलताको आधार प्रभावकारी जोखिम व्यवस्थापन, सुशासन र सक्षम नेतृत्व भएको उल्लेख गर्दै बदलिँदो वित्तीय वातावरणअनुसार रणनीतिक सोच, सामूहिक प्रयास र उत्कृष्ट कार्यसम्पादनमार्फत संस्थालाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

विशेष अतिथि दिनेश अधिकारीले यस्ता कार्यक्रमले कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्नुका साथै संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सिकाइलाई व्यवहारमा उतार्दै सदस्यमैत्री, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन कर्मचारीलाई आग्रह गरे।

प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले संस्थाको दीर्घकालीन लक्ष्य र भावी योजनाबारे जानकारी गराउँदै जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई थप सुदृढ बनाउन सबै कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए। नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गर्दै आगामी रणनीति तथा कार्ययोजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा शाखाहरूको कार्यसम्पादन, हासिल भएका उपलब्धि, देखिएका चुनौती, सुधारका आवश्यक क्षेत्र तथा आगामी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको थियो। विभागीय प्रमुखहरूले जोखिम व्यवस्थापन, कर्जा तथा असुली व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन, प्रभावकारी सेवा प्रवाह, नेतृत्व विकास तथा शाखा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।

सहभागीहरूबीच भएको समूहगत छलफलबाट व्यावहारिक समस्या समाधान, सुधारका उपाय तथा भावी रणनीतिबारे साझा निष्कर्ष निकालिएको संस्थाले जनाएको छ। साथै, ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदानमार्फत शाखा तथा विभागबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै संस्थाको लक्ष्य प्राप्तिमा साझा प्रतिबद्धता अभिवृद्धि भएको पनि संस्थाले जनाएको छ।