नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल तथा जनरल अस्पतालमा उपचारमा विशेष छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
साउन १८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट उपचार गराउँदा बिरामी दर्ता तथा स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार उक्त सम्झौताबाट ग्राहक तथा कर्मचारीले सहुलियत दरमा गुणस्तरीय दन्त तथा स्वास्थ्य उपचार सेवा लिन सक्नेछन्।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आधुनिक बैंकिङ प्रविधिको प्रयोग गर्दै बैंकले ग्राहक सेवामा निरन्तर सुधार गर्दै आएको जनाएको छ।













