बैंकिङ प्रणालीमा बढ्दो असन्तुलन : ४ वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त
काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै जाँदा निजी क्षेत्रतर्फको कर्जा विस्तार भने लगातार सुस्ताउँदै गएको छ। पछिल्लो चार वर्षको तथ्यांकले बैंकिङ प्रणालीमा संकलित स्रोत र त्यसको परिचालनबीचको दूरी बढ्दै गएको देखाएको हो।
निक्षेप उकालो, कर्जा ओरालो
बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप १३.९ प्रतिशतले बढेर ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत एक वर्षमा निक्षेप १० खर्ब १३ अर्ब ५ करोड रुपैँयाले बढेको हो। अघिल्लो आर्थिक वर्षमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत रहेको थियो । यसरी एक वर्षमा निक्षेप वृद्धिदर १.३ प्रतिशतले बढेको छ ।
निक्षेप बढिरहँदा कर्जा विस्तार भने सुस्त देखिएको छ। गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले मात्रै बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निजी क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले बढेको थियो। यसरी एक वर्षमै कर्जा वृद्धिदर १.९ प्रतिशत बिन्दुले खुम्चिएको देखिन्छ ।
पछिल्लो वर्ष निक्षेप १३.९ प्रतिशतले बढ्दा कर्जा भने ६.५ प्रतिशतमा सीमित भएको छ। अर्थात् बैंकमा आउने निक्षेपको वृद्धिको तुलनामा निजी क्षेत्रमा जाने कर्जाको विस्तार आधाभन्दा पनि कम दरमा रहेको छ।
चार वर्षदेखि निक्षेप बढेको बढ्यै, कर्जा विस्तार सुस्त
बैंकिङ प्रणालीमा विगत ४ वर्षदेखि निक्षेप बढेको बढ्यै गर्दा कर्जा विस्तार निकै सुस्त देखिएको छ । यसले बैंकिङ प्रणालीमा एक किसिमको असन्तुलन ल्याएको छ। कर्जा प्रवाह बढाउन नसकिए वा तरलताको उचित व्यवस्थापन हुन नसके बैंक तथा वित्तीय संस्थाहरु तरलताको पासोमा पर्ने उच्च जोखिम तथ्यांकले देखाइरहेका छन्।

बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन र निजी क्षेत्रतर्फको कर्जा विस्तारबीचको अन्तर फराकिलो हुँदै गएको देखाएको छ। ग्राफअनुसार आव २०७९/८० देखि नै निक्षेपको वार्षिक वृद्धिदर निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदरभन्दा धेरै माथि छ। पछिल्ला वर्षमा निक्षेप वृद्धिदर तुलनात्मक रूपमा बलियो रहँदा कर्जा विस्तारले भने त्यसअनुसार गति लिन नसकेकोले बैंकिङ प्रणालीमा यो किसिमको असन्तुलन देखिएको हो ।
बचत निक्षेपको हिस्सा ठूलो
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा बचत निक्षेपको हिस्सा ठूलो देखिएको छ। २०८३ असार मसान्तमा कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३६.८ प्रतिशत थियो।

त्यस्तै चल्ती निक्षेपको हिस्सा ८.१ प्रतिशत पुगेको छ। मुद्दती निक्षेपको हिस्सा भने घटेको देखिन्छ । गत आवमा मुद्दती निक्षेपको हिस्सा ४८.३ प्रतिशतबाट घटेर ३५.३ प्रतिशतमा झरेको छ। ब्याजदरमा आएको गिरावटले मुद्दती निक्षेपको हिस्सा घटेको हो।
निजी क्षेत्रको कर्जा माग कमजोर रहँदा बैंकिङ प्रणालीमा उपलब्ध स्रोतको पूर्ण परिचालन हुन नसकेको अवस्था राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस
उल्लेखित वित्तीय परिवेशमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस परिरहेको देखिएको छ। गत आवमा नेपाल राष्ट्र बैंकले ठूलो मात्रामा तरलता प्रशोचन गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत ३६ खर्ब २० अर्ब ३० करोड, स्थायी निक्षेप सुविधामार्फत ३८ हजार ४ सय ९५ अर्ब र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४० खर्ब गरी कारोबारमा आधारित कुल ४२ हजार ५ सय १६ अर्ब बराबरको तरलता प्रशोचन गरिएको थियो। यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह भएकाले खुद ४२ हजार ५ सय ३ अर्ब ७५ करोड बराबरको तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ।
यस्तो अवस्थालाई सुधार गर्न उत्पादनशील क्षेत्रमा कर्जा माग बढाउने वातावरण निर्माण, लगानीको विश्वास अभिवृद्धि र उपलब्ध वित्तीय स्रोतलाई अर्थतन्त्रका सक्रिय क्षेत्रमा परिचालन गर्नु आवश्यक देखिन्छ।
















