ईभीमा मूल्य प्रतिस्पर्धाले सस्तो भाउमै प्रिमियम सुविधा, यी हुन् हालका चर्चित विकल्प
नेपाली अटो बजारमा मूल्य घटेर तीव्र प्रतिस्पर्धा चलेसँगै ४० लाख रुपैयाँभन्दा कम मूल्यमा आधुनिक प्रिमियम फिचर र लामो रेन्ज दिने विद्युतीय कारहरू ग्राहकको पहिलो रोजाइ बन्न थालेका छन्।
काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय मध्यम मूल्यका विद्युतीय कारप्रति उपभोक्ताको आकर्षण उच्च रूपमा बढेको छ।
विशेष गरी ३० देखि ४० लाख रुपैयाँसम्मको मूल्य दायरामा पाइने ईभीहरूमा ग्राहकको विशेष रुचि देखिएको छ। बजारमा चलेको तीव्र मूल्य प्रतिस्पर्धा तथा विभिन्न ब्रान्डहरूले नयाँ मोडललाई स्थापित गर्न आक्रामक मूल्य निर्धारण गरेपछि उपभोक्तालाई थप सहजता मिलेको छ।
भर्खरै सम्पन्न नाइमा र नाडा अटो शोमा पनि यो मूल्य रेन्जका करिब एक दर्जनभन्दा बढी नयाँ तथा अपग्रेड गरिएका मोडलहरू सार्वजनिक भएका छन्।
एउटै मूल्यमा धेरै विकल्प उपलब्ध हुँदा कुन गाडी रोज्ने भन्ने अन्योल चिर्न मूल्य, प्रविधि, सुरक्षा र कार्यक्षमताका आधारमा ४० लाख मुनिका केही उत्कृष्ट भ्यालु फर मनी कारहरूको चर्चा गरिएको छ।
नामी भिगो

४० लाख रुपैयाँभन्दा कममा आधुनिक ईभी खोज्नेहरूका लागि नामी भिगो एक बलियो विकल्पको रूपमा देखिएको छ। यसअघि महँगो मूल्यमा बिक्री हुँदै आएको यो गाडीको सुरुवाती मूल्य एमएडब्लू वृद्धिले घटाएर ३७ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।
यसले ठूलो ब्याट्री क्षमता, शक्तिशाली मोटर र ५० देखि ६० लाख मूल्य पर्ने कार सरहका आधुनिक तथा सुरक्षा फिचरहरू प्रदान गर्छ। यसमा ५१.८७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ जसले एकपटकको पूरा चार्जमा ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। साथै, यसले थ्रीसी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने हुनाले डिसी फास्ट चार्जरमार्फत निकै छोटो समयमै ब्याट्री चार्ज गर्न सकिन्छ।
गाडीमा ९९ किलोवाटको विद्युतीय मोटर र १९० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले यसलाई जस्तोसुकै सडकमा पनि आरामदायी बनाउँछ। यसका साथै ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका सुरक्षा सुविधाहरू यसमा उपलब्ध छन्।
आर्कफक्स टी वान

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको आर्कफक्स टी वान पनि यो सेग्मेन्टको अर्को आकर्षक क्रसओभर एसयूभी हो। लक्ष्मी मोटरहबले यसको एलभी २ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार र एलभी ३ भेरियन्टको मूल्य ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
किफायती मूल्यका साथै राम्रो ब्रान्ड लिगेसी बोकेको यो गाडीमा ७० किलोवाटको विद्युतीय मोटर र ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक राखिएको छ। यसले एकपटकको चार्जमा ३१० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिन्छ भने डिसी फास्ट चार्जरबाट २५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
यसको भित्री हिस्सामा ठूलो एचडी टचस्क्रिन, हिटेड तथा भेन्टिलेटेड सिट र विभिन्न प्रिमियम सुविधा दिइएको छ। सुरक्षाका लागि क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङ र विभिन्न पार्किङ सेन्सरहरू समावेश गरिएको छ।
चेरी क्यू

इन्ट्री लेभल क्रसओभर एसयूभीको खोजीमा रहेकाहरूका लागि चेरी क्यू एक नयाँ र उपयुक्त विकल्प हो। पायोनियर मोटोकर्पले यसको कम्फर्ट भेरियन्टको मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
रियर ह्वील ड्राइभ प्रणाली रहेको यस गाडीमा ९० किलोवाटको विद्युतीय मोटर र ४१.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। यसको फास्ट चार्जिङ क्षमताले गर्दा केही मिनेटमै ब्याट्री चार्ज गर्न सकिने सुविधा छ।
यसको क्याबिनमा ठूलो फ्लोटिङ स्क्रिन, क्वालकमको स्न्यापड्रायन चिप र एमा आधारित भोइस कमाण्ड जस्ता अत्याधुनिक सुविधा पाइन्छ। पर्याप्त बुट स्पेसका साथै ६ वटा एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा र एडास फिचरले यसलाई सुरक्षित बनाएको छ।
पन्च ईभी

नेपाली बजारमा निरन्तर रुचाइएको मोडल पन्च ईभीको फेसलिफ्ट संस्करण पनि यो सूचीमा निकै बलियो मानिन्छ। सिप्रदी ट्रेडिङले यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
यो गाडी ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ, जसले सिंगल चार्जमा २७५ देखि ३६५ किलोमिटर रेन्ज प्रदान गर्छ। यसले ६५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने भएकाले छोटो समयमै गाडी चार्ज गर्न सकिन्छ।
यसको भित्री भागमा दुईवटा ठूला डिजिटल डिस्प्ले, वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटजस्ता सुविधाहरू छन्। सुरक्षालाई ध्यानमा राख्दै गाडीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ।
यीबाहेक बजारमा अन्य केही नयाँ मोडलहरू पनि ग्राहकका लागि आकर्षक विकल्प बनेर उभिएका छन्।












