२५ भदौ २०८३, बिहिबार

ग्यास उद्योगीका पाता कस्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन्।

ग्यासको आपूर्ति संकटका विषयमा संसदीय समितिमा दिएको अभिव्यक्तिलाई लिएर विवाद बढिरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन्। बुधबार उद्योग समितिको बैठकमा बोल्दै यादवले काठमाडौंसहित विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने ग्यासको अभावमा ग्यास उद्योगीहरूको भूमिका रहेको आरोप लगाएकी थिइन्।

उनले उद्योगीमाथि कडाइ नगरेसम्म आपूर्ति अवस्था सहज नहुने आशय व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’

यादवले देशमा हाल सञ्चालनमा रहेका ग्यास उद्योगहरूको संख्या आवश्यकताभन्दा धेरै भएको दाबीसमेत गरेकी थिइन्।  उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’ समेत भनेकी थिइन् ।

मन्त्रीको उक्त भनाइप्रति ग्यास उद्योगीहरूले असन्तुष्टि जनाएका थिए। उनीहरूले सरकारको ध्यानाकर्षण गराउँदै मन्त्रीको अभिव्यक्तिबारे आपत्ति समेत राखेका थिए। यसपछि उद्योगी र मन्त्रालयबीचको विवाद थप सार्वजनिक रूपमा चर्किएको थियो।