कसरी आएको थियो भोटेकोशीमा बाढी? यस्तो छ सरकारी अध्ययनको निष्कर्ष
काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी सम्बन्धी सरकारी अध्ययनले निष्कर्ष निकालेको छ। उक्त अध्ययनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको हो।
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो मूल्यांकन प्रतिवेदनअनुसार बाढीको सुरुवात नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथि लेन्दे खोला क्षेत्रमा भएको थियो।
उपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा करिब ५ हजार २०० मिटर उचाइमा रहेको झुन्डिएको हिमनदीको ठूलो हिस्सा भत्किएको र त्यसपछि हिम–चट्टान पहिरो गएको देखिएको प्रतिवेदनमा उल्लेख छ। करिब २ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको हिमनदी र चट्टानी भूभाग छुट्टिएपछि पानी, हिउँ, चट्टान तथा गेग्रान मिसिएको ठूलो बहाव लेन्दे खोला हुँदै भोटेकोशी नदीमा मिसिएको थियो।
प्रतिघण्टा १८८ किलोमिटरको गतिले आएको थियो बाढी
प्रतिवेदनले बाढीको प्रारम्भिक वेग निकै तीव्र रहेको देखाएको छ। स्रोत क्षेत्रबाट रसुवागढी सीमासम्मको करिब २२ किलोमिटर दूरी बाढीले लगभग सात मिनेटमै पार गरेको अनुमान गरिएको छ। यस क्रममा औसत गति प्रतिघण्टा करिब १८८ किलोमिटर पुगेको अध्ययनको निष्कर्ष छ।
त्यसपछि बाढीको गति क्रमश: घटेको थियो। रसुवागढीबाट स्याफ्रुबेसीसम्म यसको गति करिब ८३ किलोमिटर प्रतिघण्टा र स्याफ्रुबेसीबाट बेत्रावतीसम्म करिब ६५ किलोमिटर प्रतिघण्टा रहेको आकलन गरिएको छ।
देवघाट क्षेत्रमा बाढीका बेला पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो। त्यहाँ प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटरको उच्चतम बहाव मापन गरिएको प्रतिवेदनमा जनाइएको छ।
अध्ययनअनुसार करिब ३ घण्टा ५० मिनेटको अवधिमा ५ करोड ७४ लाख घनमिटर पानी बगेको थियो। यसमध्ये सामान्य अवस्थामा हुने बहावभन्दा अतिरिक्त पानीको मात्रा करिब २ करोड घनमिटर रहेको अनुमान छ।
बाढी आउनुअघि क्षेत्रमा ठूलो वर्षा नभएको तथ्यले पनि घटनाको कारण मनसुनी वर्षा नभएको निष्कर्षलाई बल पुर्याएको छ। घटनाभन्दा अघिको ६ घण्टामा क्याङ्जिङ केन्द्रमा जम्मा १.५ मिलिमिटर वर्षा मात्र रेकर्ड भएको थियो।
त्यस अवधिमा १० मिनेटभित्र भएको अधिकतम वर्षा पनि ०.१४ मिलिमिटर मात्रै थियो। यति कम वर्षाले यति ठूलो बाढी वा विशाल पहिरो निम्त्याउन पर्याप्त नहुने अध्ययनले जनाएको छ।
बाढीले बने दुई नयाँ ताल
बाढीपछि घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा दुईवटा नयाँ प्राकृतिक अवरोध तालसमेत बनेका छन्। अध्ययनअनुसार एउटा ताल करिब १ लाख ६० हजार वर्गमिटर र अर्को करिब १ लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।
प्रतिवेदनका अनुसार अगस्ट २९ मा दोस्रो प्राकृतिक ताल ओभरफ्लो भएपछि भोटेकोशी–त्रिशूली नदीको पानीको सतहमा उल्लेख्य वृद्धि भएको थियो। यसले माथिल्लो क्षेत्रमा बनेका प्राकृतिक जलाशयहरू भविष्यमा समेत जोखिमको विषय बन्न सक्ने संकेत गरेको छ।












