२८ भदौ २०८३, आइतबार

भित्रियाे तिजकाे राैनक: आज घर-घरमा दर खाईँदै, भोलि निराहार व्रत!



काठमाडौँ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको औपचारिक सुरुवातसँगै आज बिहानैदेखि देशभरका महिलाहरू घर-घरमा दर खाने र खुवाउन व्यस्त छन्।

भाद्र शुक्ल द्वितीयाका दिन मनाइने यस पहिलो दिन माइतीले छोरी-चेली र दिदीबहिनीलाई आदरका साथ बोलाएर मीठा-मीठा परिकार खुवाउने परम्परा छ। वर्षभरिका दुःख-कष्ट बिर्सेर आफन्तसँग खुसी साट्ने यो अवसरले प्रत्येक घरमा उत्सवको माहोल ल्याएको छ।

अघिल्लो दिन खाइने आडिलो र शुद्ध परिकारले तृतीयाका दिन बसिने कठिन र निराहार व्रतका लागि शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ। विशेषगरी दूध, घिउ, खिर, फलफूल तथा गहुँका अडिला परिकारहरू दरका रूपमा खाने शास्त्रीय एवं व्यावहारिक मान्यता रहिआएको छ। परम्परा अनुसार मध्यरात हुनुअघि नै दर खाइसक्नुपर्ने नियम छ, जसले भोलिपछिको निर्जला व्रतलाई सहज र शक्तिपूर्ण बनाउन मद्दत गर्छ।

तीज केवल धार्मिक अनुष्ठान मात्र नभएर महिलाहरूको भावनात्मक अभिव्यक्ति र आत्मीयताको सङ्गम पनि हो। कर्मघरका व्यस्तता, हण्डर र पीडाहरूलाई माइतीको आँगनमा पुगेर गीत र नृत्यका माध्यमबाट पोख्ने यो मौलिक माध्यम हो। पुराना संगी-साथीहरूसँगको भेटघाटले आपसी सम्बन्धलाई झन् कसिलो र आत्मीय बनाउने काम गर्छ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउनका लागि आफ्ना सखीहरूसँगै गुप्त ठाउँमा बसेर कठिन तपस्या गरेको पौराणिक कथा यस पर्वसँग जोडिएको छ। सखीहरूद्वारा हरण भएर गरिएको व्रत भएकाले यसलाई ‘हरितालिका’ भनिएको हो।

त्यही पौराणिक परम्परालाई पछ्याउँदै आज पनि नेपाली नारीहरू आफ्नो सौभाग्य, पारिवारिक समृद्धि र सुख-शान्तिको कामना गर्दै यो व्रत बस्ने गर्छन्।

विशेष गरी आज बेलुकी दर खाएपछि सुरु हुने यो चारदिने तीज पर्व ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा-आजा र स्नान गरेपछि समाप्त हुन्छ।