१ आश्विन २०८३, बिहिबार

सरकारले भदौ मसान्तसम्म पौने २ खर्ब राजस्व उठायो, वार्षिक लक्ष्यको ११.५९ प्रतिशत संकलन



काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब पौने २ खर्ब रुपैँया राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

भदौ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा यसपटक राजस्व आम्दानी २५ अर्ब ६७ करोड रुपैयाँले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठाएको थियो।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। यसअनुसार दुई महिनामा वार्षिक लक्ष्यको ११.५९ प्रतिशत पूरा भएको छ।

कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा करबाट प्राप्त भएको छ। सरकारले कर शीर्षकमा १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ संकलन गर्दा गैरकर राजस्वबाट १० अर्ब ७८ करोड रुपैयाँ प्राप्त गरेको छ।

कुल प्राप्ति कति पुग्यो ?

यसैगरी, अनुदानलगायत अन्य स्रोतबाट आएको रकम जोड्दा सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

यसरी हेर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको राजस्व तथा समग्र प्राप्ति दुवै बढेको छ। सरकारले बजेटमा बार्षिक राजस्व संकलन लक्ष्य महत्वाकांक्षी राखेकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।