बाढीले पर्यटन क्षेत्रमा अर्बौँको क्षति, रसुवालाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्न प्रस्ताव
काठमाडौं। भोटेकोशीमा आएको बाढी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।
नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा बाढी–पहिरोबाट पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा ठूलो आर्थिक असर परेको उल्लेख छ। बोर्डका कार्यकारी सदस्य सहदेव धमलाको संयोजकत्वमा तयार भएको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाइएको हो।
प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा होटल तथा पर्यटन व्यवसाय, पर्यटन पूर्वाधार, यातायात, पदमार्ग र पर्यटक व्यवस्थापन प्रणालीमा उल्लेख्य क्षति पुगेको छ।
होटल व्यवसाय सबैभन्दा बढी प्रभावित
क्षतिको क्षेत्रगत मूल्यांकन गर्दा होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। होटल क्षेत्रमा मात्रै १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
त्यस्तै वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल र पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको असर परेको प्रतिवेदनमा उल्लेख छ।
सम्पदा तथा पर्यटन पूर्वाधारमा १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार र रेस्टुरेन्ट व्यवसायमा १ अर्ब ३८ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ पनि १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ।
यसैगरी आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्याफ्टिङ तथा क्याम्पिङ स्थलमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनले देखाएको छ।
बाढी र पहिरोका कारण १ हजार १ सय १७ नेपाली तथा विदेशी नागरिक प्रभावित भई सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ३ सय १० जनालाई उद्धार गरिएको छ भने थप १३ जना सम्पर्कमा आएका छन्।
हालसम्म ७ सय ९४ जना सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीनमध्ये ६ सय ६ जना विदेशी नागरिक र १ सय ८८ जना नेपाली रहेका छन्। उद्धार गरिएका ३ सय १० जनामा २ सय ५८ पुरुष र ५२ महिला छन्।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार घटना भएको करिब एक घण्टाभित्र खोज तथा उद्धार अभियान सुरु गरिएको थियो। त्यसका लागि पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरिएको थियो।
रसुवालाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्न प्रस्ताव
प्रारम्भिक प्रतिवेदनले पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचना पुनर्निर्माणमा मात्र सीमित गर्न नहुने सुझाव दिएको छ। भविष्यमा आउन सक्ने जलवायुजन्य विपद्लाई समेत ध्यानमा राखेर सुरक्षित र दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।
वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए।
विपद्का बेला छिटो निर्णय र प्रभावकारी समन्वयका लागि पर्यटन बोर्डमा २४ घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्यूआरटी (द्रूत प्रतिक्रिया टोली) लाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइएको छ। त्यसका लागि वार्षिक १ करोडदेखि ५ करोड रुपैयाँसम्म बजेट छुट्याउनुपर्ने प्रस्ताव गरिएको छ।
















