८ आश्विन २०८३, बिहिबार

जोखिमपूर्ण परनिर्भरता : रेमिट्यान्सको बलमा विदेशी मुद्रा सञ्चिति पाँच वर्षदेखि निरन्तर उकालो



काठमाडौं। नेपालमा विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै गएको छ। वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स विदेशी मुद्रा आर्जनको प्रमुख आधार बन्दै जाँदा बाह्य क्षेत्र बलियो देखिएको छ। विदेशी मुद्रा सञ्चिति बढेर आयात धान्न सक्ने क्षमता समेत थप बलियो बनेको छ। तर विदेशी मुद्रा आर्जनको ठूलो हिस्सा रेमिट्यान्समा निर्भर रहँदा नेपालको बाह्य क्षेत्रको दिगोपनामा प्रश्न भने कायमै छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अमेरिकी डलरमा समेत सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ।

विदेशी मुद्रा सञ्चितिमा देखिएको यो सबलताले नेपालको बाह्य क्षेत्रको अवस्था थप सहज बनेको देखाउँछ। २०८३ साउन मसान्तसम्म बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात तथा १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

राष्ट्र बैंकको रिर्पोटमा प्रकाशित यो चित्रले विगत ५ वर्षदेखि विदेशी मुद्रा सञ्चिति निरन्तर उकालो लागेको देखाएको छ ।

जोखिमपूर्ण परनिर्भरता

नेपालको विदेशी मुद्रा सञ्चिति बढ्नुमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहँदै आएको छ। मुलुकको विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान करिब ६७ प्रतिशत देखिएको छ । विदेशी मुद्राको स्रोत सम्बन्धमा पछिल्ला पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा उक्त अवधिमा रेमिट्यान्सको योगदान औसतमा ६० प्रतिशतभन्दा बढी नै देखिन्छ ।

यसरी वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकमले विदेशी मुद्रा आपूर्तिको मुख्य आधार दिँदै आएको छ। यसकै कारण बाह्य क्षेत्रका सूचकहरूमा सुधार देखिँदा विदेशी मुद्रा सञ्चिति समेत उच्च तहमा पुगेको हो। तर यही संरचनाले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सप्रतिको निर्भरता पनि बढाएको छ।

गत वर्ष मात्रै ७ लाख ९२ हजार नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यसबीचमा मध्यपूर्वको तनाव कायमै छ। वैदेशिक श्रम बजारमा आउने परिवर्तनले नेपालको बाह्य क्षेत्रलाई प्रभावित पार्ने जोखिन रहेको अर्थविद्हरुले चेतावनी दिइरहेका छन्। त्यसको प्रभाव विदेशी मुद्रा आपूर्ति र सञ्चितिमा समेत पर्न सक्ने भएकाले रेमिट्यान्समा आधारित विदेशी मुद्रा आर्जनलाई दीर्घकालीन रूपमा चुनौतीका रूपमा हेरिँदै आइएको छ।

विदेशी मुद्रा आर्जनका वैकल्पिक आधार खोज्नु आवश्यक

विदेशी मुद्रा सञ्चिति उच्च हुनु नेपालको बाह्य क्षेत्रका लागि सकारात्मक सूचक हो। यसले आयात भुक्तानी गर्न र बाह्य क्षेत्रबाट आउने सम्भावित दबाब सामना गर्न सहजता प्रदान गर्छ। तर सञ्चिति बढ्नुको आधार के हो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

सञ्चितिको वृद्धिको मुख्य आधार वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स भएकाले दीर्घकालीन रूपमा विदेशी मुद्रा आर्जनको आधार फराकिलो बनाउने चुनौती हामी कहा रहेको छ। त्यसैले अहिलेको उच्च सञ्चितिलाई कायम राख्न रेमिट्यान्ससँगै उत्पादन तथा निर्यात वृद्धि, पर्यटनबाट विदेशी मुद्रा आम्दानी विस्तार र लगानीमार्फत प्रत्यक्ष विदेशी मुद्रा (एफडीआई) भित्र्याउने वातावरण निर्माण गर्नु महत्वपूर्ण रहेको तथ्यांकले देखाउछ।