५ कार्तिक २०८३, बिहिबार

दसैंमा केही दिन आफ्नै देशसँग : कहाँ-कहाँ जाने घुम्न ?



काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैं नजिकिँदै छ। दसैंलाइ टीका, जमरा, पिङ र आफन्तसँगको भेटघाटको पर्व मानिन्छ। दसैंमा लामो बिदाका कारण परिवार, साथीभाइ र आफन्तसँग घुमफिर गर्ने अवसर पनि हो।

वर्षभरि कामको व्यस्ततामा बितेको समयलाई केही दिन थन्क्याएर नयाँ ठाउँ पुग्ने, नयाँ भूगोल बुझ्ने, प्रकृतिसँग रमाउने र परिवारसँग नयाँ सम्झना बनाउने अवसर दसैंको बिदाले दिन्छ। यही कारण दसैंको लामो बिदालाई धेरैले घुमफिरका लागि उपयोग गर्ने गरेका छन्।

अझ दसैंको समय नेपालका अधिकांश पर्यटकीय क्षेत्रमा मौसमका हिसाबले पनि अनुकूल मानिन्छ। वर्षायाम सकिँदै जाने र आकाश सफा हुँदै जाने भएकाले हिमाल, पहाड, ताल, जंगल र ग्रामीण बस्तीको यात्रा गर्न यो समय आकर्षक हुन्छ।

तपाईं पनि यसपालिको दसैं बिदालाई घुमफिरमा सदुपयोग गर्ने योजनामा हुनुहुन्छ तर कहाँ जाने, के हेर्ने र कस्तो यात्रा रोज्ने ?भन्ने अन्योलमा हुनुहुन्छ भने नेपालका यी चर्चित पर्यटकीय गन्तव्य तपाईंको यात्राको सूचीमा पर्न सक्छन्।

पोखरा : ताल, हिमाल र साहसिक यात्राको संगम

नेपालका पर्यटकीय गन्तव्यको चर्चा गर्दा पोखरालाई छुटाउन सकिँदैन। प्रकृति, संस्कृति, मनोरञ्जन र साहसिक पर्यटनलाई एउटै यात्रामा समेट्न सकिने भएकाले पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।

फेवातालमा डुंगा सयर गर्दै माछापुच्छ्रे हिमालको प्रतिबिम्ब हेर्नेदेखि सराङकोटबाट सूर्योदय र हिमाली दृश्यावलोकनसम्म पोखरामा यात्राका अनेक विकल्प छन्। डेभिज फल्स, गुप्तेश्वर गुफा, विश्वशान्ति स्तूप, बेगनास ताल, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिरलगायतका स्थल पनि पोखरा यात्रामा जोड्न सकिन्छ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, हाइकिङ, साइक्लिङ र बोटिङजस्ता साहसिक गतिविधिका कारण पोखरा घुम्ने ठाउँ मात्र नभई अनुभव गर्ने गन्तव्य पनि हो।

परिवारसँग आरामदायी यात्रा गर्नेदेखि साथीभाइसँग साहसिक गतिविधिमा रमाउनेसम्मका लागि पोखरा उपयुक्त विकल्प बन्न सक्छ।

मुस्ताङ–मुक्तिनाथ : हिमालपारिको अर्को संसार

दसैंमा धार्मिक यात्रा र प्राकृतिक सौन्दर्यलाई एउटै यात्रामा जोड्न चाहनेका लागि मुस्ताङ–मुक्तिनाथ आकर्षक गन्तव्य हो।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल हो। समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर धार्मिक आस्थाका कारण वर्षभरि नै चर्चामा रहन्छ।

मुक्तिनाथ पुग्ने यात्रामा जोमसोम, मार्फा, कागबेनी, लेतेलगायतका स्थानको छुट्टै आकर्षण छ। कालीगण्डकी नदीको किनार, सुख्खा पहाड, पुराना बस्ती, गुम्बा र हिमाली जीवनशैलीले मुस्ताङको यात्रालाई नेपालको अन्य भूगोलभन्दा फरक बनाउँछ।

समय र तयारी पर्याप्त छ भने माथिल्लो मुस्ताङको लोमान्थाङसम्मको यात्रा पनि गर्न सकिन्छ। तर, माथिल्लो मुस्ताङका लागि आवश्यक विशेष अनुमति तथा सम्बन्धित नियम पालना गर्नुपर्ने हुन्छ।

मनाङ : हिमाली भूगोल र साहसिक यात्राको गन्तव्य

अन्नपूर्ण क्षेत्रको मनाङ हिमाली भूगोल, पदयात्रा र साहसिक पर्यटनका लागि चर्चित छ। अन्नपूर्ण सर्किटको यात्रामा पर्ने मनाङ क्षेत्रमा हिमाल, हिमताल, पहाडी बस्ती र स्थानीय संस्कृतिको अनुभव लिन सकिन्छ।

मनाङको यात्रा सामान्य घुमफिरभन्दा बढी पदयात्रा र साहसिक अनुभवमा केन्द्रित हुन्छ। त्यसैले लामो यात्रा र पदयात्राका लागि पर्याप्त समय छुट्याउनेहरूका लागि यो गन्तव्य उपयुक्त हुन्छ।

रारा : निलो तालसँग बिताउने समय

मुगुको रारा ताल नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचित छ। समुद्री सतहबाट करिब २ हजार ९७२ मिटरको उचाइमा रहेको रारा वरिपरिको प्राकृतिक वातावरणले यात्रुलाई लामो समयसम्म आकर्षित गरिरहन्छ।

निलो पानी, वरिपरिका हरिया जंगल, पहाड र शान्त वातावरण राराका प्रमुख विशेषता हुन्। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रकृति अवलोकन, पदयात्रा, डुंगा सयर, चराचुरुङ्गी अवलोकनलगायतका गतिविधि गर्न सकिन्छ।

रारा पुग्ने यात्रा आफैंमा अर्को अनुभव हो। कर्णालीको पहाडी भूगोल, ग्रामीण बस्ती र बाटोमा भेटिने स्थानीय जीवनशैलीले गन्तव्यसम्मको यात्रालाई पनि स्मरणीय बनाउँछ।

लामो बिदा लिएर केही नयाँ अनुभव गर्न चाहनेहरूका लागि रारा उपयुक्त गन्तव्य बन्न सक्छ।

घोरेपानी–पुनहिल : सूर्योदयसँग हिमालको भेट

अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको दृश्यावलोकनका लागि पुनहिल नेपालको चर्चित पदयात्रा गन्तव्य हो।

घोरेपानी हुँदै पुनहिल पुगेर बिहानको सूर्योदय हेर्नु यस यात्राको मुख्य आकर्षण हो। मौसम खुलेको समयमा यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमाली दृश्य देख्न सकिन्छ।

घोरेपानी पदयात्रामा बाटोभरि देखिने गुरुङ तथा मगर बस्ती, हरियाली जंगल, स्थानीय जीवनशैली र पहाडी बाटोले यात्रालाई थप रोचक बनाउँछ।

धेरै लामो पदयात्रा गर्न नसक्ने तर हिमालको नजिक पुग्ने अनुभव लिन चाहनेहरूका लागि यो आकर्षक विकल्प हुन सक्छ।

चितवन–सौराहा : जंगल सफारी र वन्यजन्तुको रोमाञ्च

दसैं बिदामा प्रकृति र वन्यजन्तुसँग नजिक हुन चाहनेका लागि चितवनको सौराहा अर्को चर्चित गन्तव्य हो।

चितवन राष्ट्रिय निकुञ्ज आसपासको सौराहा क्षेत्र जंगल सफारी, डुंगा सयर, चराचुरुङ्गी अवलोकन र वन्यजन्तुका कारण चर्चित छ। एकसिंगे गैँडा, बाघ, चित्तल, घडियाललगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।

राप्ती नदीमा डुंगा सयर गर्दै जंगलको दृश्य हेर्नु र सूर्यास्तको आनन्द लिनु सौराहाको यात्राका आकर्षण हुन्।

सौराहाको अर्को विशेषता थारू संस्कृति हो। स्थानीय सांस्कृतिक कार्यक्रम, खानपान र ग्रामीण जीवनशैलीले चितवन यात्रालाई जंगल सफारीभन्दा फराकिलो अनुभव बनाउँछ।

इलाम : चियाबारीको हरियालीमा हराउने यात्रा

पूर्वी नेपालको इलाम प्रकृति र ग्रामीण पर्यटनका लागि चर्चित गन्तव्य हो। हरिया चियाबारी, डाँडाकाँडा, शीतल हावापानी र ग्रामीण जीवनशैली इलामका प्रमुख आकर्षण हुन्।

कन्यामका चियाबारी, श्रीअन्तु, माइपोखरी, सन्दकपुर, इलाम बजार, गजुरमुखी र सिद्धिथुम्काजस्ता स्थानले इलामलाई पर्यटकीय रूपमा विशेष बनाएका छन्।

श्रीअन्तु सूर्योदय र सूर्यास्तका लागि चर्चित छ। मौसम खुलेको समयमा पूर्वी हिमाली शृंखलाको दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

चियाबारीमा घुम्ने, स्थानीय परिकारको स्वाद लिने र हरियाली पहाडमा केही दिन बिताउने योजना बनाउनेहरूका लागि इलाम राम्रो विकल्प हो।

पाथीभरा : आस्था र हिमाली दृश्यको यात्रा

ताप्लेजुङको पाथीभरा क्षेत्र धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्वपूर्ण छ। समुद्री सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनका लागि नेपालका विभिन्न क्षेत्र तथा भारतलगायत अन्य मुलुकबाट समेत श्रद्धालु पुग्ने गर्छन्।

पाथीभरा पुग्ने यात्रामा धार्मिक आस्थासँगै पूर्वी नेपालको हिमाली भूगोलको अनुभव गर्न सकिन्छ। मौसम खुलेको समयमा कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।

दसैंको समयमा धार्मिक यात्रालाई हिमाली पर्यटनसँग जोड्न चाहनेहरूका लागि पाथीभरा आकर्षक गन्तव्य बन्न सक्छ। उच्च उचाइमा पर्ने भएकाले यात्रा गर्दा मौसम र स्वास्थ्य अवस्थालाई भने ध्यान दिन आवश्यक हुन्छ।

खप्तड : पाटन, जंगल र शान्तिको संसार

सुदूरपश्चिमको खप्तड प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणका कारण चर्चित छ। खप्तड राष्ट्रिय निकुञ्जभित्रका विशाल पाटन, हरियाली जंगल र पहाडी भूगोलले यहाँ पुग्ने पर्यटकलाई फरक अनुभव दिन्छ।

खप्तड बाबा आश्रम, त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग, नागढुंगा लगायतका धार्मिक तथा प्राकृतिक स्थल यहाँका आकर्षण हुन्।

खप्तडको यात्रा सामान्य पर्यटकीय यात्राभन्दा केही साहसिक हुन्छ। सडकबाट निश्चित स्थानसम्म पुगेपछि पैदल यात्रा गर्नुपर्ने भएकाले शारीरिक तयारी आवश्यक पर्छ।

भीडभाडभन्दा टाढा प्रकृतिको शान्त वातावरणमा केही दिन बिताउन चाहनेहरूका लागि खप्तड उपयुक्त गन्तव्य हो।

बन्दीपुर : पुरानो बस्तीको नयाँ अनुभव

तनहुँको बन्दीपुर छोटो समयको यात्राका लागि निकै आकर्षक गन्तव्य हो। पुराना नेवारी शैलीका घर, ढुंगे बाटो, पहाडी बजार, स्थानीय संस्कृति र हिमाली दृश्य बन्दीपुरका मुख्य आकर्षण हुन्।

बन्दीपुरबाट सूर्योदय तथा सूर्यास्त हेर्न सकिन्छ। सिद्ध गुफा, थानीमाई मन्दिर तथा वरिपरिका ग्रामीण क्षेत्रमा छोटो पैदलयात्रा पनि गर्न सकिन्छ।

काठमाडौं वा पोखराबाट लामो समय छुट्याउन नसक्ने तर परिवार वा साथीभाइसँग केही दिन फरक वातावरणमा बिताउन चाहनेहरूका लागि बन्दीपुर राम्रो विकल्प हुन सक्छ।

लाङटाङ : राजधानीबाट नजिकै हिमाली यात्रा

काठमाडौं नजिकैबाट हिमाली पदयात्राको अनुभव लिन चाहनेहरूका लागि लाङटाङ क्षेत्र महत्वपूर्ण गन्तव्य हो।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रमा हिमाल, हिमनदी, जंगल, हिमाली गाउँ र तामाङ संस्कृति मुख्य आकर्षण हुन्। लाङटाङ लिरुङ यस क्षेत्रको प्रमुख हिमाल हो।

लाङटाङसँगै गोसाइँकुण्ड क्षेत्रलाई पनि यात्रामा जोड्न सकिन्छ। पदयात्रा गर्ने क्रममा हिमाली गाउँ, स्थानीय संस्कृति र प्राकृतिक वातावरणलाई नजिकबाट अनुभव गर्न सकिन्छ।

पदयात्रामा जानेहरूले मौसम, बाटोको अवस्था, आवास तथा आवश्यक सामग्रीको पूर्वतयारी भने गर्नुपर्छ।

लुम्बिनी : शान्तिको खोजीमा एउटा यात्रा

रुपन्देहीको लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ।

मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र उद्यान तथा विभिन्न देशले निर्माण गरेका बौद्ध विहार र गुम्बाहरू यहाँका प्रमुख आकर्षण हुन्।

दसैंको चहलपहलबाट केही समय टाढा शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि लुम्बिनी फरक गन्तव्य बन्न सक्छ।

धार्मिक पर्यटनसँगै इतिहास, वास्तुकला र अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिलाई बुझ्न चाहनेहरूका लागि पनि लुम्बिनी महत्वपूर्ण छ।

जनकपुर : मिथिला संस्कृति र आस्थाको सहर

धार्मिक तथा सांस्कृतिक पर्यटनमा रुचि राख्नेहरूका लागि जनकपुर महत्वपूर्ण गन्तव्य हो।

जानकी मन्दिर जनकपुरको प्रमुख आकर्षण हो। मिथिला कला, संस्कृति, परम्परा, स्थानीय खानपान र धार्मिक स्थलहरूले जनकपुरको यात्रालाई विशेष बनाउँछन्।

जनकपुर पुग्दा धार्मिक दर्शनसँगै मिथिला सभ्यता र स्थानीय जीवनशैलीलाई पनि नजिकबाट बुझ्न सकिन्छ।

काठमाडौं उपत्यका : टाढा जान नसक्नेका लागि पनि धेरै विकल्प

दसैं बिदा छोटो छ भने राजधानीबाट टाढा जानैपर्छ भन्ने छैन। काठमाडौं उपत्यकाभित्रै ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्यको ठूलो संसार छ।

पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र तथा चाँगुनारायण प्रमुख सम्पदा क्षेत्र हुन्।

नगरकोट, धुलिखेल, नमोबुद्धलगायतका ठाउँलाई पनि छोटो यात्रामा समेट्न सकिन्छ।

एक दिनको यात्रा गर्ने होस् वा दुई–तीन दिनको, उपत्यका र आसपासका गन्तव्यमा परिवार र साथीभाइसँग घुमफिर गर्ने पर्याप्त विकल्प छन्।