नेकपाको निर्णय कार्यसूची बनाएर विवाद समाधान गर्ने, अर्को बैठक मंसीर ३ गते « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

नेकपाको निर्णय कार्यसूची बनाएर विवाद समाधान गर्ने, अर्को बैठक मंसीर ३ गते



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ सचिवालय सदस्यको आग्रहमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यसूची नै बनाएर विवाद समाधान गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पाँच नेताले सचिवालय बैठक बोलाउन गरेको आग्रह, जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखेको पत्र, प्रधानमन्त्रीको पत्रको जवाफमा दाहालले लेखेको पत्र र दाहालले पार्टी विवाद समाधानका लागि तयार गरेको प्रस्ताव र स्थायी कमिटीपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी सचिवालय बैठक मंसीर ३ गते फेरि बस्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्