नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक, पहिलो ५० ग्राहकलाई ५७ लाख ९९ हजारमै पाइने
काठमाडौँ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्राइभेट लिमिटेडले आफ्नो नयाँ एमजी हेक्टर टोमाहक ईभीको मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यस प्रिमियम इलेक्ट्रिक एसयूभीको मूल्य रु. ६१ लाख ९९ हजार निर्धारण गरेको छ। यस वर्षको सुरुआतमा नेपाली बजारमा प्रवेश गरेको एमजीले आफ्नो पोर्टफोलियो विस्तार गर्ने क्रममा यो नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो।
लञ्च अन्तर्गत जी.ओ. अटोमोबाइल्सले पहिलो ५० जना ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष इन्ट्रोडक्टरी प्राइस (सुरुवाती मूल्य) उपलब्ध गराउने घोषणा गरेको छ। मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले कम्पनीले एमजी हेक्टर टोमाहक ईभीका स्पेयर पार्ट्सको मूल्यसूचीसमेत सार्वजनिक गरेको छ।
एमजी हेक्टर टोमाहक ईभी प्रिमियम एसयूभीको फराकिलोपन, आकर्षक प्रेजेन्स र कम्फर्टसँगै इलेक्ट्रिक मोबिलिटीका फाइदाहरू चाहने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ। यसमा ६९.२ केडब्लुएच क्षमताको ब्याट्री र १५० केडब्लु क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले ३१० एनएम टर्क उत्पादन गर्छ। यसले एकपटकको चार्जमा एमआईडीसी-सर्टिफाइड मापदण्डअनुसार ५१७ किमी सम्मको रेञ्ज प्रदान गर्छ। साथै, यसले ० देखि १०० किमी/घण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ।
यस एसयूभीले ९० केडब्लु सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न अनुमानित ३५ मिनेट लाग्छ। त्यस्तै, ७.४ केडब्लु क्षमताको एसी चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि १०० प्रतिशतसम्म charge (चार्ज) गर्न अनुमानित १२.५ घण्टा लाग्छ।
एमजी हेक्टर टोमाहक ईभीमा ग्राहकको आवश्यकता र प्रयोगअनुसार ५-सिटर र ७-सिटर कन्फिगरेसन उपलब्ध छन्। ५-सिटर कन्फिगरेसनमा ६१० लिटर सम्मको बूट स्पेस रहेको छ। यसको क्याबिनमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ३२.५ सेमी (१२.८-इन्च) टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २२.३ सेमी मल्टि-इन्फर्मेसन डिस्प्ले रहेको छ।
सेफ्टीका लागि यस एसयूभीमा हाइ-स्ट्रेन्थ स्टिल बडी स्ट्रक्चर, ६ वटा एअरब्याग्स, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम (ईएसपी), ट्र्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, एबीएस विथ ईबीडी, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, अटो होल्ड सुविधासहितको इलेक्ट्रिक पार्किङ ब्रेक, डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड-सिट एन्कर्स, रियर पार्किङ सेन्सर्स र रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर्स समावेश छन्।
जी.ओ. अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले भने, “एमजी हेक्टर टोमाहक ईभी नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। नेपालमा स्मार्ट र सस्टेनेबल मोबिलिटी प्रतिको आकर्षण बढ्दै गएको छ। यो एसयूभीले टेक्नोलोजी, कम्फर्ट र इलेक्ट्रिक पर्फोर्मन्सको उत्कृष्ट संयोजन प्रस्तुत गर्नुका साथै यसको मूल्यले ग्राहकलाई वास्तविक भ्यालु प्रदान गर्ने हाम्रो विश्वास छ। सवारीसाधन उपलब्ध गराउनुका साथै प्रत्येक एमजी ओनरलाई उत्कृष्ट सर्विस र आफ्टर-सेल्स एक्सपेरियन्स प्रदान गर्न पनि हामी प्रतिबद्ध छौँ।”
ग्राहकहरूले एमजी हेक्टर टोमाहक ईभीको बुकिङ तथा टेस्ट ड्राइभका लागि एमजी काठमाडौँ, थापाथलीमा सम्पर्क गर्न सक्नेछन्। एमजी हेक्टर टोमाहक ईभीमार्फत एमजीले नेपालको मोबिलिटी क्षेत्रमा इनोभेसन, सस्टेनेबिलिटी र कन्टेम्पोररी डिजाइनसहितका सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

















